कञ्चनपुर । वन पैदावारमा हानी नोक्सानी हुन नदिनका लागि कञ्चनपुरको झिलमिली सामुदायिक वनले उपभोक्ताको मागअनुरूप दाउरा घरघरमै पुर्याउने काम गर्दै आएको छ ।
शुक्लाफाँटा नगरपालिका–१ गणेशपुर र कृष्णपुर नगरपालिका–२ बङ्कसम्म फैलिएको सामुदायिक वनले वन संरक्षणका लागि कार्यान्वयनमा ल्याएको नयाँ कार्ययोजनाअनुसार दुवै नगरपालिकाका उपभोक्ताको घरघरमै दाउरा पुर्याउँदै आएको हो ।
उपभोक्ता आफैँले वन क्षेत्रमा छिरेर दाउरा संकलन गर्दा वन पैदावारसँग जीवजन्तुका बासस्थानमा असर पर्ने भएको हुँदा उपभोक्ताले माग गरेअनुरूपको दाउरा घरसम्मै ढुवानी गर्दै आएको सामुदायिक वनका अध्यक्ष अर्जुनबहादुर साउदले बताए ।
‘वन कार्ययोजनाअन्तर्गत वार्षिकरूपमा वन व्यवस्थापनका क्रममा झाडी सफाइ गर्ने, एक्ल्याउने, पत्ल्याउने र ढलापडा रुख संकलन गरेवापत संकलन हुने दाउरा उपभोक्तालाई उपलब्ध गराउँदै आएका छौँ’, उनले भने, ‘उपभोक्ताको आर्थिक हैसियतले भ्याउने गरी प्रतिडनलव दाउरा एक हजार ६१० रुपैयाँमा उपभोक्ताको घरमै उपलब्ध हुँदै आएको छ ।’
अनावश्यकरूपमा वन प्रवेशमा रोक लगाइएपछि वन संरक्षण र वन्यजन्तुको बासस्थान जोगाउन मद्दत पुगेको उनले बताए । दाउरा वनमै उपभोक्तालाई संकलन गर्न दिँदा विगतमा चोरी सिकारी र काठ दाउरा तस्करी बढ्दो क्रममा रहेको थियो ।
त्यो कामसमेत पूर्णरूपमा रोकिएको छ । ‘पहिलाजस्तो काठ दाउरा ल्याउन परे वनमा जानै पर्दैन’, अध्यक्ष साउदले भने, ‘लोड–अनलोड, कटान र ढुवानी सबै वनले नै गरिदिन्छ ।’ उपभोक्ताको घरमै पुगेर दाउरा भए–नभएको जानकारी लिनसमेत भ्याउने भएकाले सोहीअनुरूप वनमा दाउराको व्यवस्थासमेत मिलाउने गरिएको छ ।
वनले दाहसंस्कारका लागि उपभोक्तालाई निःशुल्क दाउरा उपलब्त्त गराउँदै आएको छ । दुई नगरपालिकामा फैलिएको वनमा चारवटा टोल छन् । साढे तीन सयभन्दा बढी उपभोक्ता रहेको वनले उपभोक्ताको मागअनुसार बेलाबेलामा भुइँघाँस रुखघाँससमेत उपलब्ध गराइरहेको छ । यसका लागि प्रतिभारी रु १० तोकेको छ । दुई सय हेक्टर क्षेत्रफलमा फैलिएको वनले गणेशपुर, ओखरफाँटा, नन्दीपुर र सन्धिफाँटाका उपभोक्तालाई संरक्षण र उपयोगमा सँग–सँगै जोडेको छ ।
टोटीनालामा पक्की पुल निर्माण
शुक्लाफाँटा नगरपालिका–१० स्थित टोटीनालामा रु चार करोड ४८ लाख ५५ हजार ८७८ को लागतमा पक्की पुल निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले पुल निर्माण अगाडि बढाएको हो । पुल निर्माणका लागि केएस कन्स्ट्रक्शन प्रालि धनगढीसँग ठेक्का सम्झौता गरिएको छ ।
आउँदो आवको असार मसान्तसम्म पुल निर्माण गर्ने गरी सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक नेगीले बताए । निर्माण हुने पुलको लम्बाइ ३० मिटर र चौडाइ ११ मिटर छ ।
‘कृष्णवैजनाथ बहुमुखी क्याम्पसमा पढ्ने छात्रछात्रालाई नालामा पुल नहुँदा निकै समस्या रहेकाले पुलको माग गरेका थियौँ’, नगरप्रमुख दिलबहादुर ऐरले भने, ‘प्रदेशसभा सदस्य लालबहादुर खड्काको पहलमा पुल निर्माण हुन थालेको छ, यो सकारात्मक काम हो, पुल निर्माणपछि क्याम्पस पढ्ने विद्यार्थीलाई निकै सहज हुनेछ ।’
पुल निर्माणपछि क्याम्पस पढ्ने मात्रैलाई फाइदा पुग्ने नभई यस क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई समेत सहज हुने भएको उनले बताए । नालामा पुल नहुँदा बर्सातको समयमा पानीको बहाव अत्यधिक हुँदा तर्नका लागि निकै गाह्रो हुने गरेको स्थानीय तेजबहादुर शाहले बताए ।
‘पानीको बहावकै कारण विद्यार्थीले क्याम्पस पुग्नै नपाई बाटोबाटै फर्कनुपर्ने बाध्यता थियो’, उनले भने, ‘हिउँदको कठ्याङ्ग्रिँदो चिसोमा कम्मरसम्म पानी हुने नाला तर्नका लागि समस्या थियो, पुल निर्माण थालेपछि ती सबै समस्या हटेर जाने विश्वास लिएका छौँ ।’ स्थानीय बासिन्दाले गुणस्तरयुक्त पुल निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।
विपन्न परिवारका खरका छानो फेरिने
कञ्चनपुरका तीन नगरपालिकाका आर्थिकरूपमा विपन्न परिवारको खरको छानो फेरिने भएको छ । शहरी विकास मन्त्रालयको सुरक्षित आवास कार्यक्रमअन्तर्गत विपन्न परिवारका घरका छाना फेरिने भएका हुन् ।
शुक्लाफाँटा, वेदकोट र कृष्णपुर नगरपालिकाका गरी ८६१ आर्थिकरूपले विपन्न परिवारलाई सुरक्षित आवासमा बस्ने व्यवस्था मिलाउनका लागि छानो फेर्ने कार्य हुन लागेको छ ।
खरको छाना भएका घरमा जस्तापाता राख्नका लागि कार्यक्रम लागू गरिएको छ । कार्यक्रमअन्तर्गत एक घर बराबर ५० हजार रुपैयाँ बजेट खर्च गरिने बताइएको छ ।
‘घरको छानो राख्नका लागि आर्थिक जोहोको व्यवस्था मिलाउन नसक्ने विपन्न परिवारको नगरपालिकाले विवरण तयार गरेपछि छाना फेर्ने काम सुरु गरिनेछ’, प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले भने, ‘छाना फेर्न आवश्यक भएका परिवारको विवरण तयार गर्नका लागि स्थानीय तहलाई भनिसकेका छौँ, केही दिनभित्रै छाना फेर्ने काम हुन्छ ।’
उनका अनुसार कृष्णपुर नगरपालिकामा ३१३, वेदकोट नगरपालिकामा २७१ र शुक्लाफाँटा नगरपालिकामा २७७ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राखिनेछ । निर्वाचनका बेला निर्वाचन क्षेत्रमा रहेका आर्थिकरूपले विपन्न परिवारलाई सुरक्षित आवासको व्यवस्था मिलाउने प्रतिबद्धताअनुसार घरको छाना फेर्ने काम हुन लागेको उनले बताए ।