काभ्रे । बनेपामा आइतबार सँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
काभ्रेको धुलिखेल नगरपालिका-८ भट्टीडाडाँका २८ वर्षीय सत्यमान तामाङ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-६ का हरिकृष्ण बस्नेतको मृत्यु भएको हो ।
बनेपा नगरपालिका-६ मा आइतबार साँझ ना १२ प ७४२९ नम्बरको डिस्कभर मोटरसाइकल र बागमती प्रदेश ०२ १२७ प २७०८ नम्बरको एफजेड मोटरसाइकल आपसमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
दुर्घटनामा अन्य तीन जना घाइते भएको उनले बताए ।
घाइते हुनेहरुमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-६ का विकास बस्नेत, काभ्रेको धुलिखेल नगरपालिका-४ का १८ वर्षीय अनिल मगर र उदयपुर कटारी-६ का १८ वर्षीय सुवास मगर रहेका छन् ।
विकास नेपाली सेनामा कार्यरत छन् । उनलाई थप उपचारको लागि काठमाडौंस्थित छाउनी अस्पताल लगिएको छ ।
अनिल र सुवासको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।