तेह्रथुम । तरकारी खेतीका लागि बनाइएको प्लास्टिकको पोखरीमा डुबेर एकै परिवारका दुई जनासहित तीन बालिकाको मृत्यु भएको छ ।
पोखरीमा डुबेर छथर गाउँपालिका-६ सुदापका दिदीबहिनी सात वर्षीया रञ्जना र पाँच वर्षीया रोजनी लिम्बू तथा आठ वर्षीया सुहानाको मृत्यु भएको हो ।
घटना शनिबार साँझको हो । खेल्न जाने भन्दै उनीहरु बिहान घरबाट निस्किएका थिए । खाना खाने समय भइसक्दा पनि घरमा नआएपछि उनीहरुको खोजी भएको थियो । त्यसअघि अभिभावकहरु घरायसी काम (खेतीपाती) मा व्यस्त थिए ।
त्यस क्रममा शनिबार साँझ उनीहरु स्थानीय प्रगति कृषक समूहले बनाएको पोखरीमा मृत फेला परेका हुन् ।
रञ्जना र रोजनी स्थानीय इन्द्रबहादुर लिम्बूका छोरी हुन् भने सुहाना देवेन्द्र लिम्बूकी छोरी रहेको तेह्रथुम जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कोमल ठाकुरले जानकारी दिए ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको उनले बताए ।