काठमाडौं । ३८ तोला सुनसहित काठमाडौं ठमेलबाट ५ जना पक्राउ परेका छन् । काभ्रे पाँचखाल नगरपालिका-२ घर भएकी ५५ वर्षीया माइली तामाङको घरबाट शनिबार दिउँसो साढे २ बजे नगद र गरगहना चोरेर फरार रहेका उनीहरूलाई एक डिस्कोबाट पक्राउ गरिएकाे हाे ।
प्रहरीले ओखलढुंगाका २७ वर्षीय देवराज दाहाल, सिन्धुपाल्चोकका २४ वर्षीय रामचन्द्र चालिसे, काभ्रेका २३ वर्षीय राम तामाङ, १८ वर्षीय हुईबहादुर तामाङ, १८ वर्षीय राजन तामाङलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त, लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई आइतबार ड्रयागन डिस्कोबाट पक्राउ गरेको हो । चोरी गरी फरार भएका उनीहरूको खोज तलासको क्रममा उनीहरू आइतबार पक्राउ परेका हुन् । उनीहरूमाथि थप अनुसन्धान गर्न उनीहरूलाई काभ्रे पठाइएको छ ।