काठमाडौं । कोरोना महामारीका कारण रोकिएको मादक पदार्थ सेवन (मापसे) परीक्षण फेरि सुरु भएको छ । गत चैतदेखि मापसे परीक्षण रोकिएको थियो ।
काठमाडौं उपत्यकाका सबै युनिटलाई आज (शुक्रबार) बाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै (उपत्यकामा) सवारीसाधनमा लगाइएको जोर बिजोर प्रणाली (आजदेखि) हटेसँगै मापसे परीक्षण सुरु गर्न लागिएको हो ।
महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार, मापसे जाँच गर्दा ब्रेथलाइजर एकपटक मात्रै प्रयोग गरिनेछ ।
रातको समयमा मापसे जाँचमा कडाइ गरिने उनले बताए ।
ट्राफिक कारवाहीमा परेकाहरुलाई भने हाललाई अनलाइन कक्षाकै व्यवस्था गरिएको छ ।