काठमाडौ । नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गर्नुभएका बालागुरु षडानन्दले नेपाली समाजमा पुर्याएको योदानको स्मरणमा आज उहाँको जन्मजयन्ती मनाइँदैछ ।
विसं १८९२ जन्मिएका षडानन्दले विसं १९३२ मा संस्कृत पाठशाला स्थापना गरी सबै जातजातिका मानिसले पढ्न पाउने व्यवस्था मिलाएका थिए । राजधानी शहरमा समेत राणा र उच्चवर्गीय परिवारले मात्र पढ्न पाउने त्यो बेलामा जनताको समेत सहयोग लिएर पठनपाठनको व्यवस्था मिलाइएको थियो । यो औपचारिकरुपमा स्थापना भएको नेपालको पहिलो पाठशाला मानिन्छ ।
त्यसैबेलादेखि दिङ्लामा स्थापना भएका शिवालय एवं राम, सीताका मन्दिरमा बाला चतुर्दशी र रामनवमी पर्वको मेला शुरु भयो । मेलामा पनि बजार लाग्ने व्यवस्था मिलाएपछि त्यस क्षेत्रका मानिसको जीवन यापनमा सजिलो भएकाे थियो । षडानन्दले बगैचा स्थापना गरेर धेरै प्रकारका बिरुवा लगाई रुद्राक्षलाई उनले व्यावसायिक खेती गर्न जनतालाई प्रेरित गरे । यो खेती हाल भोजपुर, सङ्खुवासभा र धनकुटाका विभिन्न स्थानमा भइरहेको छ जसले अर्थोपार्जनमा सहयोग गरेको छ ।
षडानन्दले विसं १९४० मै जगेडा वनको अवधारणा ल्याउनुभएको थियो । उहाँको सोचअनुसार स्थापना भएको वनलाई हाल विकासका नाममा वन विनाश गर्न थालेको राजधानीमा बस्दै आएका भोजपुरवासीको गुनासो छ । नेपालमै पहिलोपटक सामुदायिक वनको सोच अघि सार्नुभएका षडानन्दको यो पाटो ओझेलमा परेको इन्द्रमणि सुवेदी बताउनुहुन्छ ।
षडानन्दको कालदेखि नै भोजपुर र यस वरपरका जिल्लामा शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा भएको विकासले पूर्वी क्षेत्रको अर्थतन्त्र धानिएको बताइन्छ । षडानन्दले विसं १९४० मा बहुआयामिक उद्देश्य समेटेको सीताराम गुठी स्थापना गरे । गुठी अन्तर्गत विद्यालय, मन्दिर, भौतिक संरचना, धार्मिक सांस्कृतिक कामको उन्नयन एवं व्यवस्थापनका साथै ऋण प्रदान सेवा पनि समेटिएको उनका विषयमा अन्वेषण गरिरहेका यादव चापागाईँ बताउँछन् ।
गुठीको अध्यक्ष रहनुभएका दिङ्लावासी कृष्णप्रसाद पौडेल जग्गासमेत भएकाले षडानन्दको योगदानको कदरका लागि तीनै तहका सरकारको सक्रियतामा कृषि वा अन्य नामका विश्वविद्यालय बनाउन सकिने दिङ्लावासीको माग छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ षडानन्दले राणाकालमै पूर्वी नेपालमा बालेको अध्यात्मको ज्योति निभेकाले त्यसलाई पुनर्जीवित गर्न थप अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताउँछन् । मन्त्रमा विज्ञानलाई फेल गराउने ज्ञान भएकाले दिङ्लाको अध्यात्मको ज्योति फेरि जगाउनुपर्ने उनको भनाइ छ ।