काठमाडौं । कमलामाई नगरपालिका–१३ की छत्रमाया मगरले १०३ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार उनले नागरिकता प्राप्त गरेकी हुन् ।
उनलाई प्रमुख प्रशासकीय अधिकृत भीम बस्नेतले नागरिकता प्रदान गरे । रुचानी निवासी छत्रमाया यसअघि नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सेवासुविधाबाट वञ्चित थिइन् ।
नागरिकता नभएर राज्यले प्रदान गर्ने सेवासुविधाबाट वञ्चित भएको समाचार सुनेपछि वडाध्यक्ष किरण माझीलाई फोन गरेर वृद्धा आमाको विवरण बुझ्न आग्रह गरेको र नागरिकता वितरण गरिएको बताइएको छ ।
विसं १९७४ माघ १५ गते जन्मिएकी छत्रमायाले १०३ वर्षको उमेरमा नागरिकता प्राप्त गरेसँगै निकै खुसी भएकी छिन् ।
नागरिकता नहुँदा राज्यले दिने सेवासुविधाबाट वञ्चित भएकी छत्रमायाले अब वृद्धभत्ता प्राप्त गर्न बाटो खुलेको छ । पाँच वर्षअघि छत्रमायाका श्रीमानको निधन भएको थियो । यसपछि उनलाई नाति पर्ने पदमबहादुर रानामगरले पालनपोषण गर्दै आएका छन् ।