ललितपुरको ग्वार्कोस्थित एक गेस्ट हाउसमा २७ वर्षीया युवती सामूहिक रुपमा बलात्कृत भएकी छन् ।
२७ वर्षीया युवतीमाथि बलात्कार गरेको भन्दै प्रहरीले ग्वार्कोस्थित लुम्बिनी गेस्ट हाउसबाट २ जना पुरुषलाई पक्राउ गरेको छ ।
ती युवतीलाई शुक्रबार दिउँसो ललाई फकाई प्रलोभनमा पारी २ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोही गेष्ट हाउसबाट उनीहरुलाई शनिबार पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका घर भएका ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिना लगायत २ जना छन् ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो २ जना पुरुषले ग्वार्को बस्दै आएकी युवतीलाई ललाई फकाई प्रलोभनमा पारी गेस्ट हाउसमा लगेका थिए ।
पक्राउ परेका दुवै जनाविरुद्ध जवर्जस्ती करणी सम्बन्धी कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
१५ वर्षीया बालिका बलात्कृत
यसैबीच, भक्तपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने २८ वर्षीय नवराज कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई बिहीबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।