मंसिर ०६, २०८१, बिहीबार
               

प्राज्ञिक विद्यार्थी परिषद्‍को राष्ट्रिय अधिवेशन सम्पन्न

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको रजत जयन्ती विशेष आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।

विराटनगरमा हालै सम्पन्न महाधिवेशनबारे काठमाडौंमा आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । अधिवेशनको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक तथा उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङले गरेका थिए ।

प्राज्ञिक विद्यार्थी परिषद् राष्ट्र पुनर्निर्माणको उदात्त र पवित्र लक्ष्य लिएर स्थापित गरिएको सो संस्थाले जनाएको छ । उसले देशको मौलिक संस्कृति र राष्ट्रियताको संरक्षण तथा प्रवर्द्धन गर्दै शिक्षा एवं सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

समाजमा रचनात्मक कार्यका माध्यमबाट व्यक्तिको सर्वाङ्गीण विकास गर्न परिषद्ले निरन्तर रचनात्मक कार्यक्रम सञ्चालन गरिरहँदा परिषद्ले विद्यार्थी तथा युवा वर्गलाई राष्ट्र पुनर्निर्माणको कार्यमा समाहित हुनका लागि सकारात्मक प्रेरणा प्रदान गर्दै आएको छ ।

उद्घाटन समारोहमा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष प्रा. डा. रामजी गौतम, राष्ट्रिय महासचिव सुरेन्द्रप्रसाद भट्ट, विशिष्ट अतिथि राष्ट्रिय स्वयंसेवक संघका राष्ट्रिय प्रचार प्रमुख सुनिल अम्बेकर, व्यवसायी वेणीगोपाल मुन्दडा, समाजसेवी एवं नोबेल मेडिकल कलेजका कार्यकारी निर्देशक इन्दिरा शर्मा, विद्यार्थी परिषद्का प्रदेश अध्यक्ष चिन्तामणि बस्नेत, प्रदेश सचिव विवश कटुवाललगायत विद्यार्थी परिषद्का राष्ट्रिय पदाधिकारीहरू सहभागिता रहेको थियो। त्यसैगरी अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव आशिष् चौहान साथै सामाजिक, आध्यात्मिक, व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

उद्घाटन सत्रमा प्रमुख अतिथि घिसिङले देश विकासका लागि इमानदारिता र अनुशासन नै मूल मन्त्र भएको बताए । उनले विद्यार्थी शक्तिहरूको आवश्यकता रहेकोले प्राज्ञिक विद्यार्थी परिषद्ले गरेको कार्यबाट त्यस्तो व्यक्ति निर्माण हुनेमा विश्वस्त रहेको जनाए ।

अधिवेशनमा साङ्गठनिक प्रशिक्षण, देशको समसामयिक अवस्थाको बहस, देशको आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक तथा धार्मिक क्षेत्रको विषयलाई समेटेर विशेष शैक्षिक, समसामयिक र कोरोना महामारीपछिको अर्थतन्त्र सम्बन्धी विशेष प्रस्तावमाथि छलफल पश्चात् आएको सुझावहरू संकलन गरेर तीनवटा प्रस्ताव पारित गरेको छ ।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार डा. रामकृष्ण तिमल्सिनाले विभिन्न विचारधारा र हाम्रो विचार भन्ने विषयमा विश्लेषणात्मक तथ्यहरूमा बोल्दै पूर्वी सभ्यता र विचारधारा नै सर्वश्रेष्ठ भएको र अन्य विचारधारा नेपालमा आवश्यक नभएको प्रस्ट्याएका थिए ।

अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव आशिष् चौहानले विश्वको सभ्यताहरू हराउँदै गएको उल्लेख गर्दै पूर्वीय सभ्यता किन आजसम्म पनि बचिरहेको छ भन्नेबारे प्रस्ट पारेका थिए । उनले पूर्वीय दर्शन र संस्कारको महत्त्व तथा पूर्वीय सभ्यताविरुद्धको प्रहारबारे आफ्नो मन्तव्य राखेका थिए । 

यस्तै विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनबाट आगामी २०७८/०७९ का लागि ९२ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाइएको छ । आठौँ राष्ट्रिय अधिवेशनबाट परिषद्का उपाध्यक्ष डा. गोपीनाथ कँडेल राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी राष्ट्रिय महासचिवको जिम्मेवारीमा छितराज न्यौपाने निर्वाचित भएका छन् ।

अधिवेशनमा विभिन्न क्षेत्रमा बौद्धिक, सामाजिक, व्यावसायिक, आध्यात्मिक साथै देशभरबाट परिषद्का पाँच सयभन्दा बढी विद्यार्थी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट देविका बुढाथोकी सम्मानित

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले यस वर्षको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार महिला उद्यमी देविका बुढाथोकीलाई प्रदान गरेको छ । 

विराटनगरको अतिथि सदनमा आयोजित विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार २०७७ बाट महिला उद्यमी देविका बुढाथोकीलाई १५ हजार रुपैयाँ नगद, सम्मान पत्र, दोसल्ला र श्रीफल दिएर सम्मान गरेको छ । 

विद्यार्थी परिषद्ले समाजमा सकारात्मक कार्य, प्रेरणादायी अनुकरणीय कार्य गर्दै आइरहेका युवामध्येबाट उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई छनोट गरी आफ्नो राष्ट्रिय अधिवेशनमा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट सम्मान गर्ने गरेको छ । उक्त सम्मान गर्ने क्रममा विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार झापा जिल्लाका महिला युवा उद्यमी बुढाथोकीलाई प्रदान गरिएको हो ।

२०४१ सालमा झापामा जन्मिएकी सम्मानित बुढाथोकी आफ्नो बाल्यकालदेखि नै सामाजिक, व्यावसायिक एवं उद्यमशीलताको क्षेत्रमा विशेष रुचि राख्दै विभिन्न संघसंस्था, क्लब, समूहहरू, पेसा तथा सीप सिकाइका क्षेत्रमा आबद्ध छिन् । उनले युवा उमेरमा नै हस्तकला, नेपाली मौलिक खाद्यान्नको निर्यात, स्वदेशी उत्पादन तथा बिक्री वितरणका लागि वातावरण निर्माण गरी महिला उद्यमशीलताको विकास एवं विशेष प्रशिक्षण आदिलाई आफ्नो कर्मक्षेत्र बनाई नेपाली हस्तकलालाई उत्पादन गर्दै अन्तर्राष्ट्रिय स्तरमा व्यापार प्रवर्द्धन गर्दै आएकी छिन् ।

उनले नेपाली माटोको उत्पादन, कच्चा पदार्थहरूको संकलन, प्राकृतिक रेसाका वनस्पतिहरूको प्रयोग गर्दे हस्तकलाको विकास एवं विस्तार लागि महिलाहरूलाई विशेष प्रशिक्षण गर्दै आइरहेकी छिन् । उनको कामबाट पाँच सयभन्दा बढी महिलालाई प्रत्यक्ष रोजगारी मिलेको छ ।

यो पनि