काठमाडौं । सुनसरी प्रशासनले शनिबार इनरुवा–३ स्थित महेन्द्रचोक क्षेत्र सिल गरेको छ ।
तीन दिनको अवधिमा कोरोना संक्रमणबाट एकै परिवारका दुईको मृत्यु र सात जना संक्रमित भएपछि तत्काललाई सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्रचोक क्षेत्र सिल गरिएको उनले जानकारी दिए । संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिल गरिएको प्रजिअ ढकालले बताए ।
चोक क्षेत्र सिल गराउन नगर प्रमुख राजन मेहता स्वयं सो स्थान पुग्नुभएको थियो । जोखिम बढेकाले सिल गर्ने निर्णयमा पुग्नुपरेको भन्दै विषम परिस्थितिमा घरमै बसी कोरोना नियन्त्रणमा सघाउ पुर्याउन नगरवासीलाई उनले आग्रह गरे ।