काठमाडौं । शहरको सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि काठमाडौं महानगरपालिकाले वृक्षरोपण अभियान सुरु गरेको छ ।
बर्सातको समय पारेर कामपाले शनिबारदेखि यस अभियानको थालनी गरेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा नं १२ विष्णुमती नदी किनाराबाट बिरुवा रोप्ने काम सुरु गरेका हुन् ।
सार्वजनिक जग्गा संरक्षण गरेर हरियाली बढाउने कामपाको नीतिअनुरुप यस कार्य अघि बढाइएको हो । नीति अनुरुप सार्वजनिक निकाय र समुदायसँगको सहकार्यमा बिरुवा रोप्ने काम भएको छ ।
साना बिरुवा हुर्काउन कठिन हुने भएकाले कम्तीमा पाँच फिटभन्दा अग्ला बिरुवा रोप्ने मापदण्ड बनाइएको छ । अहिलेको बर्सातको समयमा दुई हजार ५०० बिरुवा रोप्ने योजना कामपाको छ ।
हरियालीसँगै शहरी सुन्दरता बढाउन नियमित र विशेष सरसफाइ गर्ने, दृश्य प्रदूषण गराउने वस्तुको प्रदर्शन रोक्ने तथा भएकालाई हटाउने काम भइरहेको कामपाले जनाएको छ ।
अभियानको पहिलो दिन शिरीष, कपुर, कल्की र चाँप जातका करिब १३० बिरुवा रोपिएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
‘बिरुवा रोप्नुजत्तिकै महत्वपूर्ण काम यसको संरक्षण गर्नु पनि हो । बारबेर, मल र पानीको उचित प्रबन्ध गर्नुपर्छ’, श्रेष्ठले भने, ‘यसका लागि वडा र समुदायसँग समन्वय गरेर कार्यक्रम सफल बनाउँछौँ ।’
कामपाले गत आर्थिक वर्ष जस्तै चालु आवमा पनि कामपाभित्र रहेको सार्वजनिक जग्गाको पहिचान, उद्यान निर्माण र हरियाली प्रवर्धन गर्ने कार्यलाई नीति तथा कार्यक्रममा समेटी बजेटको समेत व्यवस्था गरेको छ ।
कामपा बोटबिरुवा रोप्ने कार्य मात्रै होइन, शहर कुरूप बनाउने र नीतिविपरीत शहरका विभिन्न स्थानमा राखिएका विज्ञापन बोर्ड हटाउने कार्यमा पनि निरन्तर लागिरहेको छ ।