काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार आज काठमाठौं उपत्यकामा मौसम पहिलेको तुलनामा केही फरक भइ धेरै स्थानहरुमा बिहानैदेखि घाम लागिरहेको छ । साथै, केही स्थानमा भने थोरै बदली रहेको बताइएको छ ।
त्यसैगरी अन्य जिल्लामा पनि धेरै स्थानमा मौसम सफा रहेको छ । तर, केही प्रदेशका उच्च एवं हिमाली क्षेत्रमा भने हावाहुरी र वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । साथै, राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।