मंसिर ०७, २०८१, शुक्रबार
               

‘बिजुली छैन भोली आउनु’

नेपाल फ्ल्यास
भदौ १४, २०७८

ADVERTISEMENT

म्याग्दी । विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित हुन थालेको छ ।

प्रशासनमा जडान भएको इन्भटर, ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति नभएका अवस्थामा सेवा पनि बन्द हुन थालेको हो ।

विद्युतीय उपकरणको प्रयोग र इन्टरनेटको सहायताले गरिने सबै काम ठप्प हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बताए । 

‘अधिकांश काम कम्प्युटर र इन्टरनेटबाट गर्नुपर्छ’, उनले भने, ‘विद्युत् आपूर्ति नहुँदा समस्या भएको छ ।’ आइतबार अपराह्न झरी परिरहेका अवस्थामा कार्यकक्षमा अध्याँरो भएपछि उनी मोबाइलको टर्च बालेर कागजपत्र प्रमाणित गर्दै थिए । 

कम्प्युटरमा टाइप गर्न बिजुली नभएपछि अन्य कर्मचारीले अतिआवश्यक काम हातले लेखेर गरिरहेका थिए । बागलुङ र पर्वतका सिमानामा पोल ढल्दा आइतबार दिउँसो १ देखि ५ बजेसम्म म्याग्दीमा विद्युत् आपूर्ति बन्द भएको थियो ।

जिल्लामा विद्युत् आपूर्ति अनियमित हुने समस्या छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेबाट श्रीमतीको नागरिकता बनाउन आएका ताराप्रसाद छन्त्यालले समयमा काम नहुँदा थप दुई दिन बेनी बस्नुपर्ने अवस्था आएको गुनासो गरे ।

‘सानो बच्चासहित श्रीमतीलाई लिएर दिउँसो १२ः३० मा आएको थिए’, उनले भने, ‘बिजुली छैन भनेर दिनभरि काम गरेनन्, आज बिदा छ, आइतबारै काम सकेर फर्कने योजना थियो, मङ्गलबारसम्म बेनी बस्नुपर्ने भयो ।’

जनजातिको प्रमाणपत्र बनाउन आएकी मालिका गाउँपालिका–५ देवीस्थानकी हेमा रानामगरले दिनभरि कुरेर काम नभएपछि त्यसै फर्कनुपरेको गुनासो गरे । ‘बिजुली छैन भनेर काम गरेनन्, वैकल्पिक व्यवस्था रहेनछ’, उनले भने, ‘यस्तो महत्वपूर्ण कार्यालयमा विद्युत् आपूर्तिको विकल्प नगर्दा नागरिकलाई सास्ती भयो ।’

नागरिकताको प्रतिलिपि बनाउन आएका देवीस्थानकै सुरत पुन पनि ताराप्रसाद र हेमाजस्तै कामै नगरी फर्कनुपरेको गुनासो गरे । नागरिकता वितरण, सिफारिस, संस्था दर्ता, नवीकरणलगायतका काम लिएर प्रशासनमा पुग्ने सर्वसाधारण मर्कामा परेका छन् । 


कस्तो लाग्यो ?

यो पनि