मंसिर ०६, २०८१, बिहीबार
               

भरतपुरमा ३६ घण्टापछि विद्युत् नियमित, कुलमान आफैँ फिल्डमा

नेपाल फ्ल्यास
कात्तिक १८, २०७८

ADVERTISEMENT

भरतपुर महानगरपालिकाको अधिकांश स्थानमा अवरुद्ध भएको विद्युत् आपूर्ति ३६ घण्टापछि नियमित भएको छ । मंगलबार दिउँसो १ बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति बिहीबार बिहान १ बजेदेखि सुचारु भएको हो ।

भोजाडस्थित १३२/११ भरतपुर सवस्टेशनको ३० एमभिएका दुइटै पावर ट्रान्सफर्मर जलेपछि भरतपुर महानगरपालिका–१ देखि ५, ७ देखि १२, २९ र देवघाट क्षेत्रमा विद्युत् आपूर्ति ठप्प भएको थियो । विद्युत् आपूर्ति अवरुद्ध भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बुधबार सवस्टेशनको स्थलगत निरीक्षण गरी जतिसक्दो काम चाँडो गर्न निर्देशन दिएका थिए ।

विद्युत् आपूर्ति बन्द भएपछि ५५ हजारभन्दा बढी सेवाग्राही प्रभावित भएको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले बताए । भरतपुर सवस्टेशन ग्रिड महाशाखा हेटौँडाअन्तर्गत पर्छ । तत्कालका लागि महाशाखाले २२ एमभिएको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति सहज बनाएको हो ।

बुधबार दिउँसो २ बजेदेखि उक्त ट्रान्सफर्मरमा तेल भरेर फिल्टर गर्न थालिएकोमा बिहीबार बिहान १ बजेबाट मात्रै विद्युत् आपूर्ति सुचारु भएको हो ।

पोखराबाट अर्को २२ एमभिएको ट्रान्सफर्मर पनि ल्याइँदै गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । घिसिङले बुधबार राति पनि सवस्टेशनमा पुगेर निरीक्षण गरेका थिए ।  

‘बिहीबार बिहानबाट त्यो जडानको काम सुरु हुन्छ’, उनले भने । लक्ष्मी पूजामा भरतपुरवासीलाई उज्यालोमा राख्ने गरी काम भइरहेको उनले बताए । ‘हाललाई एउटा मात्रै ट्रान्सफर्मर चार्ज गर्दा उद्योग बाहेकलाई पुग्छ । बिहीबार अर्को २२ एमभिएको ट्रान्सफर्मर जडान भइसकेपछि भरतपुरको सबै क्षेत्रलाई बिजुली पुग्छ,’ उनले भने । 

भरतपुरमा पछिल्लो पटक छिनछिनमै लाइन जाने समस्याले स्थानीयहरू हैरान भएका छन् । बुधबार अस्पताल लगायतका अत्यावश्यक स्थानमा छिमेकी सवस्टेशन पर्सा, चनौली र मुकुन्दपुरबाट ल्याएर वितरण गरिएको हो ।

देवनगरमा निर्माणाधीन अवस्थामा रहेको सवस्टेशन चार्ज हुन थालेपछि भरतपुरमा विद्युत् आपूर्तिमा सहज हुने घिसिङले बताए । ‘पूर्वी चितवनमा ३३ केभी लाइन बनाउन दिइएको छैन । त्यसले गर्दा पनि यस्तो समस्या आएको हो,’ उनी भन्छन्, ‘त्यो लाइन भएको भए, त्यहाँबाट पनि हामीले बिजुली दिन सक्थ्यौँ ।’

भरतपुरलाई भरपर्दो रूपमा बिजुली दिनका लागि यहाँ सवस्टेशन थप्न लागिएको उनले बताए । ‘फिडर थप्ने, तार भूमिगत गर्ने काम हुँदै छ । यो सबै भरपर्दो विद्युत् आपूर्तिका लागि हो’, उनले भने, ‘अहिले यहाँ धेरै समस्या आएको कुरा मैले पनि सुनेको छु । केही ठाउँमा सडक विस्तारका क्रममा पनि लाइन जाने गरेको रहेछ ।’ भरतपुरमा प्राविधिक समस्या नआउने गरी विद्युत् आपूर्ति दिनका लागि सोहीअनुसार काम भइरहेको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि