मंसिर ०६, २०८१, बिहीबार
               

हल गोरु पाल्ने किसानलाई तनहुँको म्याग्देमा चार हजार रुपैयाँ अनुदान
दूध उत्पादक कृषकलाई पनि उत्पादनको आधारमा अनुदान

नेपाल फ्ल्यास
साउन ०८, २०८०

ADVERTISEMENT


तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप रकम दिएको छ । पछिल्लो समय गोरु पाल्ने चलन नै हराउँदै गएपछि गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो। 

गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम निरन्तर बढ्दै गएपछि किसानलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए । गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहन स्वरुप १० लाख रुपैयाँ वितरण गरेको छ । गाउँपालिकाले हल गोरु पोषण अनुदानबापत सबै वडाका दुई सय ५० कृषकलाई जनही चार हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरेको हो । 

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन हराउदै जाँदा खेतबारी बाँझो हुन थालेको बताए । प्रोत्साहन रकमले हलगोरु पाल्ने कृषक अझै बढ्ने विश्वास लिएको श्रेष्ठकोे भनाइ छ । 

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिए । गाउँपालिकाले दुई हजार एक सय ९८ पशुलाई लम्पी स्कीन विरुद्धको खोप लगाइसकेको छ । पशुसेवा शाखा प्रमुख डा. शाहका अनुसार गाई, गोरु, भैँसी, राँगालाई खोप लगाइएको हो । त्यस्तै पाँच सय १७ पशु बस्तुको उपचार गरिएको छ । 

गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनको आधारमा अनुदान रकम  उपलब्ध गराएको छ । गाउँपालिकाको पशुसेवा शाखाको दूधमा अनुदान कार्यक्रमअन्तर्गत उत्पादनका आधारमा पालिकाले कृषकलाई १४ लाख ९८ हजार पाँच सय ८२ रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ। गाउँपालिकाले प्रति लिटर नौ रुपैयाँ २० पैसाका दरले उत्पादनका आधारमा अनुदान दिने नीति बमोजिम तीन वटा सहकारीमा आबद्ध कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरेको छ। 

म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने कृषकलाई ११ लाख २१ हजार एक सय ८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत् दूध बिक्री गर्ने कृषकलाई दुई लाख १२ हजार दुई सय ३२ र साँगे चार हजार दुग्ध उत्पादक सहकारीमार्फत् दूध बिक्री गर्ने कृषकलाई एक लाख ६५ हजार एक सय ६३ रुपैयाँ वितरण गरिएको पशु सेवा शाखाले जानकारी दिएको छ । 

म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ र साँगे चार हजार दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दूग्ध उत्पादन गरी बिक्री गरेको हो । यो आर्थिक वर्षमा गाउँपालिकाबाट एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । दूधमा अनुदान कार्यक्रममार्फत् म्याग्दे सहकारीका ५५, गौ सेवा सहकारीका १० र साँगे चार हजार सहकारीका २२ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
 

यो पनि