मंसिर ०६, २०८१, बिहीबार
               

अनुदान पछि बढ्न थाल्यो दूध उत्पादन

नेपाल फ्ल्यास
साउन ३२, २०८०

ADVERTISEMENT

रुकुम पश्चिम । पशु अस्पताल तथा पशु सेवा कार्यालयले दूधमा अनुदान दिन थालेपछि रुकुम पश्चिममा दूध उत्पादन बढेको छ । कार्यालयले दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने गरेको छ ।

आर्थिक वर्ष २०७९—८० मा मात्रै जिल्लामा ५४ लाख ४४ हजार छ सय लिटर दूध उत्पादन भएको थियो । दूधमा प्रतिलिटर पाँच रुपैयाँका दरले किसानलाई प्रोत्साहनस्वरूप रकम उपलब्ध गराइएपछि जिल्लामा दूध उत्पादन वृद्धि भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिए । 

उनका अनुसार आव २०७९—८० मा ४५ दलित, ४६ जनजाति र अन्य पाँच सय ४० गरेर छ सय ३१ जना किसानलाई दूधमा अनुदान दिइएको थियो । निवेदन दिएका छ सय ३१ जना किसानले अनुदान पाएको कार्यालयका निमित्त प्रमुख शर्माले जानकारी दिए । दूध बिक्री गरेका आधारमा किसानले आठ सय ७५ देखि ४५ हजार रुपैयाासम्म प्रोत्साहन रकम पाएको उनको भनाइ थियो । 

कार्यालयले दिने अनुदान रकम किसानको खातामा पठाउने गरिएको छ । अनुदानअन्तर्गत छ सय ३१ जना किसानले ३५ लाख ५८ हजार रुपैयाँ प्राप्त गरेका थिए । जिल्लामा उत्पादन भएको केही दूध जिल्ला सदरमुकाम खलङ्गा, सोलावाङलगायत स्थानीय बजारमा बिक्री हुने गरेको छ भने बाँकी दूध रुकुम पूर्व, सल्यान, नेपालगञ्जमा समेत निकासी हुने गरेको छ ।

जिल्लाको मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा किसानले राम्रैसँग दूध उत्पादन गर्दै आएका छन् । आठबीसकोट नगरपालिका र बाँँफीकोट गाउँपालिकामा भने कम दूध उत्पादन हुने गरेको निमित्त कार्यालय प्रमुख शर्माले बताए । 

दूध सङ्कलन केन्द्र, डेरी, पशु अस्पताल तथा पशु सेवा कार्यालयमा उपलब्ध विवरणअनुसार जिल्लामा ५४ लाख ४४ हजार छ सय लिटर दूध उत्पादन भएको देखिन्छ । गाउँमै उत्पादन भएर गाउँमै खपत भएको रेकर्ड भने नभएकाले योभन्दा धेरै दूध जिल्लामा उत्पादन हुने गरेको कार्यालयको भनाइ छ ।

किसानलाई दूधमा प्रोत्साहन उपलब्ध गराउँदा जिल्लामा अघिल्ला वर्षभन्दा दुई दशमलव ६३ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि