काठमाडौँ । आइसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा नेपालले ओमानलाई २५० रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाउँदै २४९ रन बनाएको हो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए । ७६ बल सामना गरेका ज्ञानेन्द्रले एक छक्का र ६ चौका प्रहार गरेका थिए ।
शनिवार अमेरिकासँगको खेलमा सुरुवातमै खराब प्रदर्शन गरेकोमा आइतबारको खेलमा भने नेपाली ब्याट्सम्यान केही सम्हालिएका थिए ।
पूर्वकप्तान पारस खड्काले ३४ बलमा ३८ रन बनाए । पारसले ज्ञानेन्द्र सरह ६ चौका र एक छक्का प्रहार गरेका थिए ।
नेपालका लागि विनोद भण्डारीले ३५ रन बनाए भने आरिफ शेख र कुशल मल्ल २८/२८ रन बनाएर पेभेलियन फर्किए । आरिफले ४५ बल सामना गर्दा एक चौका प्रहार गरेका थिए भने युवा ब्याट्सम्यान कुशलले २४ बलमा २ छक्का र २ चौका प्रहार गरेका थिए ।
ओपनर सुवास खकुरेलले ४२ बलको सामना गर्दै २२ रन जोड्दा चौथो क्रममा आएका दीपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन् ।
करण केसीले १० रनको बनाए भने सन्दीप लामिछाने १० रन बनाएर आउट भए । त्यस्तै कमल सिंह ऐरीले ९ रन बनाए ।
ओमानका बलर अकिव इलियासले ४ विकेट चड्काए भने मोहम्मद नादिमले ३ विकेट लिएका थिए ।