मंसिर ०७, २०८१, शुक्रबार
               

महायज्ञबाट क्रिकेट रङ्गशाला निर्माणमा ३५ करोड सङ्कलन

नेपाल फ्ल्यास
माघ २७, २०७६

ADVERTISEMENT

नारायण अधिकारी

चितवन । निर्माणाधीन गौतमबुध्द अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म ३५ करोड रुपैयाँ बढी सङ्कलन भएको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार सोमबार अन्तिम दिन थप २० करोड रुपैयाँ सङ्कलन हुने अपेक्षा गरिएको छ । यससँगै महायज्ञबाट रङ्गशालालाई ५५ करोड सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

रङ्गशाला निर्माण सहयोगार्थ भनिएपछि महायज्ञमा जिल्लाका घरघरबाट आर्थिक सङ्कलन गरी टोल, आमा समूह, सरकारी र गैरसरकारी कार्यालय, स्थानीय तह, सामुदायिक वन, सहकारी, क्लब, स्वास्थ्य संस्था, शिक्षण संस्थाले रकम सङ्कलन गरी महायज्ञमा बुझाएका छन् ।

मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेका अनुसार हालसम्म सबैभन्दा बढी बाग्मती प्रदेश सरकारले १५ करोड, जिल्ला समन्वय समिति चितवनले दुई करोड २२ लाख तथा नवलपरासीको गैँडाकोट नगरपालिकाले एक करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।

यसै गरी भरतपुर महानगरपालिकासहित जिल्लाका सबै स्थानीय तहले रकम घोषणा गरेका छन् । चुकेका अनुसार सोमबार प्रदेश सरकार र भरतपुर महानगरपालिकाले रकम थप गरी घोषणा गर्ने कार्यक्रम रहेको छ ।

महायज्ञका वाचन दिनबन्धु पोखरेलले आफूले पारिश्रमिक नलिने घोषणा गर्दै स्वयम् सहयोगको घोषणा गरेका छन् । नगदसँगै हालसम्म रु ४५ लाख ७९ हजार २०० बराबरको धानसमेत सङ्कलन भएको छ ।

महायज्ञ स्थल नजिकै रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । रङ्गशाला निर्माणमा पनि स्वयंसेवी रूपमा काम गर्नेहरू दिनहुँ आउने गरेका छन् । महानगर प्रमुख रेणु दाहालले चितवनवासीमात्रै नभएर  धेरैले रङ्गशालालाई अपनत्व ठानेकै कारण महायज्ञमार्फत सहयोग गर्न सकारात्मक भएर लागेको बताइन् ।

धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशाला निर्माण गर्न करिब दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ । जनस्तरबाट निर्माण हुन लागेको देशकै यो पहिलो रङ्गशाला हो ।


कस्तो लाग्यो ?

यो पनि