मंसिर ०६, २०८१, बिहीबार
               

उपाधितर्फ अग्रसर लिभरपुलका समर्थक स्तब्ध, रित्तो रंगशालामा हुनसक्छ निर्णायक खेल

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

इंलिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडसँग दोस्रो स्थानको म्यानचेस्टर सिटी २–० ले पराजित भयो । जीतसँगै चौथो स्थानको म्यानचेस्टर युनाइटेडले तेस्रो स्थानको चेल्सीसँगको आफ्नो अंकदूरीलाई तीन अंकमै कायम राख्यो ।

युनाइटेडको जीतमा उ जत्तिकै खुसी हुने अर्को क्लब लिभरपुल हो । शीर्ष स्थानको लिभरपुलले लिगमा २९ खेलबाट ८२ अंक जोडेको छ । सन् १९९२ मा इंलिस प्रिमियर लिग सुरु हुँदा लिभरपुल इङल्यान्डकै सफल क्लब थियो, यतिबेलासम्म फुटबल लिग फस्ट डिभिजन इङल्यान्डको माथिल्लो लिग प्रतिस्पर्धा थियो र सर्वाधिक १८ पटक यो उपाधि जितेको किर्तिमान लिभरपुलको नाममा थियो ।

तर, प्रिमियर लिग सुरु भएयता लिभरपुलले कहिल्यै उपाधि जित्न सकेन । लिभरपुलले अन्तिमपटक लिग जितेको १९८९–९० मा हो । त्यसयता, दुईपटक युरोपेली च्याम्पियन्स लिग (२००५, २०१९), दुईपटक एफए कप, चारपटक फुटबल लिग कप, तीनपटक कम्युनिटी शिल्ड, एकपटक युरोपा लिग, तीनपटक युरोपियन सुपर कप र एकपटक फिफा क्लब विश्वकप जितेपनि त्यसले प्रिमियर लिग उपाधिको अभाव पुर्ति गर्न सकेन ।

यसपटक लिभरपुल भोक पूरा गर्ने संघारमा छ । दोस्रो स्थानको सिटीविद्ध म्यानचेस्टर युनाइटेडले जित दर्ता गर्नुको मतलब अब, बाँकी नौमध्ये दुई खेल जित्दा लिभरपुल च्याम्पियन हुनेछ ।

तर लिभरपुललाई चिन्ता थपिएको छ । ३० वर्षपछि उपाधि जित्दाको खुसीयाली आफ्ना समर्थकसँग मनाउने खेलाडीको चाहना अधुरो रहनसक्छ । कोभीड–१९ कोरोना भाइरसको त्रासका कारण लिभरपुलले बन्द रंगशालामै आफ्ना बाँकी खेल खेल्नुपर्ने हुनसक्छ र यो अवस्था पक्कै पनि इतिहास बनाउन खोज्ने क्लबका लागि सुखद रहनेछैन । 

कोभीड–१९ को त्रासका कारण अहिले प्रिमियर लिगका खेलअघि खेलाडीबीच हात मिलाउने क्रम रोकिएको छ । इटलीमा त बिना दर्शक नै क्लबहरुले लिग खेल्दैछन् । विज्ञहरुका अनुसार कोभीड–१९ को महामारी बढ्दै गएमा इङल्यान्डमा पनि यस्तो हुनसक्छ ।

त्यसो त उपाधितर्फ अग्रसर भइसकेको लिभरपुलले सोमबार मेइ १८ मा विजय परेड गर्ने तयारी समेत गरिसकेको थियो, तर अब यो तयारी पनि अन्यौलमा छ । लिभरपुलले आफ्नो समर्थकसँग सडकमा निस्केर खुसीयाली त मनाउनेछ नै, तर कोरोनाका कारण तत्काल यस्तो संभव नहुन सक्छ । यो विजय परेडमा दशौं लाख सर्वसाधारण आउने अनुमान गरिएको थियो । 

लिभरपुल समर्थकहरुको समुह युनियन स्पिरिट अफ स्यान्क्लीका अध्यक्ष जो ब्लोटले रित्तो रंगशालामै लिभरपुलले उपाधि जित्नुपर्ने अवस्था निम्तनु दुग्भार्य हुने बताए ।

‘शनिबारको खेल हेर्न रंगशाला पुग्दा मैले जति समर्थकसँग कुरा गरें । उनीहरुको चासो पनि यसैमा थियो । रित्तो रंगशालामा उपाधि जित्नुपर्ने अवस्था निम्तियो भने त्यो हाम्रा लागि दुग्भार्य हुनेछ,’ उनले भने,‘यति राम्रो खेलेर लिभरपुलले यसपटक उपाधि जित्दैछ र यस्तो अद्भूत क्षणमा दर्शक साक्षी हुन नपाउनु बिडम्बना हो । मलाई लाग्छ लिभरपुलका सबै समर्थक यस्तो इतिहास बनेको समय त्यहाँ पुग्न चाहन्छन् । हामी केवल कामना गर्नसक्छौं । यस्तो अवस्था नआओस् ।’

फोर्ब्सकाअनुसार विश्वभर लिभरपुलका झन्डै ७० करोड ७० लाख समर्थक छन् । एनफिल्डको दर्शक क्षमता ५४ हजार ७४ छ । ब्लोटले कोरोना फैलन नदिनका लागि पूर्वतयारी गर्न क्लबका अधिकारीहरुसँग पटक–पटक कुराकानी भइरहेको बताए ।

‘तर, फुटबल अघि बढ्दै जाँदा यो अवस्था पनि परिवर्तन हुनसक्छ । सबै जानकार हुन हामी स्वास्थ्यकर्मी होइनौं,’ उनले भने,‘ तर अधिकारीहरुले यो बुझ्न जरुरी छ कि रंगशाला बन्द भयो भने एनफिल्ड नजिकका रेस्टुरेन्ट र पबमा समर्थकको भीड लाग्‍नेछ ।’


कस्तो लाग्यो ?

यो पनि