एजेन्सी । पीएसजी च्याम्पियन्स लिगमा नेयमार सफल बनेका छन् । पेरिस सेन्ट जर्मेन पिएसजीले पुनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको लिगको दोस्रो खेलमा बोरुसिया डर्टमन्डलाई २–० ले पराजित गर्दै समग्रमा ३–२ को जित निकाल्दै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लिगको खेलमा पिएसजी २–१ ले पछि परेको थियो ।
पिएसजीलाई क्वाटरफाइनलमा पुर्याउनको लागि ब्राजिली स्टार फरवार्ड नेयमार जुनियर नायक बने । पहिलो लिगमा पनि गोल गरेको नेयमारले दोस्रो लिगमा पनि एक गोल गरे । अर्को गोल जुवान बर्नाटले गरे
पिएजीको घरेलु मैदान पार्क डि प्रिन्सेस रंगशालामा दर्शकविना नै खेल भएको थियो । कोरोना भाइरसको सन्त्रासका कारण खाली स्टेडियममा खेल खेलाइएको थियो ।
खेलको २८औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एन्जल डि मारियाको क्रसमा नेयमारले गोल गरेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जुवा नबर्नाटले गोल गर्दै पिएसजीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले पाब्लो सारावियाको पासमा गोल गरेका थिए ।
दोस्रो हाफमा डर्टमन्डले घरेलु टोलीलाई दवावमा राखे पनि गोल गर्न नसक्दा खेल पिएसजीले जित्यो । युवा स्टार अर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चोका केही प्रयासलाई पिएसजीका गोलरक्षक केलर नाभासले विफल पारेका थिए ।