मंसिर ०७, २०८१, शुक्रबार
               

कप्तान विनिताको गरियो खुट्टाको शल्यक्रिया

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

चोट लागेको एक सातापछि नेपाल एपिएफ क्लबकी कप्तान विनिता बुढाथोकीको खुट्टाको शल्यक्रिया भएको छ ।
बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा बिहीबार उनको दायाँ खुट्टाको कुर्कुच्चामाथि शल्यक्रिया भएको एपिएफ महिला टोलीका व्यवस्थापक विजय केसीले जानकारी दिए ।

 उनको खुट्टामा प्लास्टर पनि गरिएको जानकारी दिँदै केसीले भने,  ‘शल्यक्रिया राम्रो भएको डाक्टरहरूले बताउनुभएको छ । प्लास्टर १२ सातासम्म राख्नुपर्छ भन्नुभएको छ । त्यसपछिको सुधारको अवस्था हेरेर मात्र कहिलेबाट खेल्न मिल्छ भन्ने अवस्था हुन्छ ।’

फागुन २१ गतेको  नेपाल पुलिस क्लबविरुद्ध नेपालगन्जमा छैटौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा विनिता घाइते भएकी थिइन् । खेलको तेस्रो सेटमा पुलिस २२–१४ ले अगाडि रहेको वेलामा उनी घाइते भएकी थिइन् ।

नेपालगन्जबाट फर्केपछि विनिता एपिएफ अस्पतालमा भर्ना भएकी थिइन् । महिला राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तानसमेत रहेकी विनिताको नेतृत्वमा एपिएफले घरेलु भलिबलका अधिकांश प्रतियोगिताको उपाधि जितेको छ । 

विनिताले झन्डै दुई दशक राष्ट्रिय महिला टोलीबाट खेलिसकेकी छिन् । उनले सन् १९९९मा आयोजना भएको दक्षिण एसियाली खेलकुद साग को आठौं, दशौं (२००६), १२औं (२०१६) र १३औं (२०१९) मा भलिबलबाट कास्य पदक जितेकी थिइन् ।

पछिल्लो १३औं सागमा भने उनले बीच भलिबलमार्फत देशका लागि पदक दिलाएकी थिइन् । टोलीका मुख्य खेलाडी सरस्वती चौधरी र नेविका चौधरी पनि घाइते भएर आराम गरिरहेका छन् । विनिताले उनै नेविकासँगको जोडी बनेर १३औं सागमा कास्य पदक जितेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि