राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार रानीपोखरी कर्नर टिम (आरसीटी) र सातदोबाटो फुटबल क्लबले जित हात पारेका छन् ।
ललितपुर सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले ब्वाईज युनियन क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चौथो चरणको यात्रा पार गरेको छ । लिग अन्तर्गत शुक्रबार नै सम्पन्न दिनको दोस्रो खेलमा आरसीटीले मध्यपुर युथ एसोसियनविरुद्ध ३–० को सहज जित निकाल्न सफल भएको छ ।
सातदोबाटोले सुरुआतबाट दबाबमा राख्दा दिनेश राईले पहिलो हाफको १४औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । जितसँगै सातदोबाटो बी डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । जितसँगै सातदोबाटो ५ खेलबाट शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा उक्लिएका हो ।
दोस्रो खेलमा अजित गुरुङको ह्याट्रिक मदतमा आरसीटीले मध्यपुरविरुद्ध शानदार जित निकाल्न सफल भयो । एक तर्फी जस्तो खेलमा अजितले खेलको सातौं, ४९ औ, र ९० औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।
पहिलो जित निकालेको आरसीटीको भने ५ अंक सहित सातौं स्थानमा रहेको छ । यता दोस्रो हार ब्यहोरेको ब्वाईज युनियन ५ खेलबाट ७ अंक सहित तालिकाको पाचौं स्थानमा र चौथो हार ब्यहोरेको मध्यपुर १ अंकका साथ तालिको पुछारबाट दोस्रोमा रहेको छ ।