मंसिर ०७, २०८१, शुक्रबार
               

‘बी’ डिभिजन लिगका सबै खेल स्थगित

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत मंगलबार भएका दुई खेल बराबरीमा सकिएका छन् ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा मंगलबार भएको खेलमा ब्वाईज युनियन र आरसिटी २–२ तथा सातदोबाटो र झम्सीखेलले १–१ गोलको बराबरी खेलेका हुन् । छैठौं चरणको खेल अन्र्तगत मंगलबार आरसीटिले ब्वाईज युनियनविरुद्ध तेस्रो मिनेटमा अग्रता लिएको थियो । अजित गुरुङले गोल  गर्दै टोलीलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक भएको खेलमा ब्वाइज युनियनका लागि कप्तान टंक बहादुर स्याङ्देन गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । २४औं मिनेटमा राकेश हमालले आत्मघाती गोल गर्दा ब्वाइज युनियनले अग्रता पाएको थियो । तर ३५ औं मिनेटमा आरसीटीका लागि नविन मान कर्माचार्यले गोल गर्दै खेल २–२ को अवस्थामा ल्याए । त्यसपछि दुबै टोली स्पष्ट जितका लागि खेले पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन् । बराबरीसँगै ब्वाईज युनियनले ६ खेलबाट तालिकामा ८ अंक जोडेको छ भने आरसीटीले ६ खेलमा ६ अंक जोडेको छ ।

अर्को खेलमा झम्सीखेलले १०औं मिनेटमा लिएको अग्रतालाई अन्तिम १९ मिनेट कायम राख्न नसक्दा अंक बाँडेको हो । निकै रोमाञ्चक बनेको खेलमा झम्सीखेलले भुवन राईको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा भने झम्सीखेलले कायम राख्न असफल भयो । सातदोबाटोले ७१ औं मिनेटमा गोल गर्दै खेल बराबरी ल्यायो । बिरेन्द्र लिम्बुले गोल गर्दै टोलीलाई हारबाट जोगाएका हुन । मंगलबारको खेलसँगै सातदोबाटोले जारी लिगमा पहिलो पटक अंक बाँडेको छ । यस अघि सम्पन्न सबै खेलमा स्पष्ट जित निकालेको सातदोबाटोको ६ खेलबाट १६ अंक भएको छ । यता ६ खेलबाट ६ अंक जोडेको झम्सीखेल सातौं स्थानमा उक्लिएको छ । झम्सीखेलको यो तेस्रो बराबरी हो ।

मंगलबार दुई खेल भए पनि एन्फाले आगामी दिनका लागि तय भएका ‘बी’ डिभिजिन लिगका खेल स्थगित गरेको छ । एन्फाले विज्ञप्ती जारी गर्दै अर्को सूचना नआएसम्मका लागि खेल स्थगित भएको जनाएको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएसँगै खेल स्थगित भएको हो । यस्तै एन्फाले एन्फा कार्यालय पनि एक साताका लागि बन्द रहने जाएको छ ।


कस्तो लाग्यो ?

यो पनि