काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विश्व गतिविधिशुन्य जस्तै भएको छ । जीवन पद्धति नै गतिहीन जस्तै भएको छ । धेरै देशमा लकडाउन छ । अपवादबाहेकका देशमा खेलकुद गतिविधि पनि ठप्प छन् ।
कोरोना भाइरसका कारण विभिन्न खेलकुद प्रतिस्पर्धा रोकिएका छन् भने कतिपय प्रभावित बन्दै छन् । यति बेला आगामी सेप्टेम्बरमा हुने आइसीसी टी २० विश्वकप के हुने भन्ने प्रश्न उठिरहेको छ । आयोजक देश अस्ट्रेलियामा पनि कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि यो प्रतियोगिता अनिश्चयतर्फ धकेलिँदै छ ।
अहिलेसम्म आइसीसीले यो प्रतियोगिताबारे निर्णय लिइसकेको छैन । आइसीसीले यसबारे निर्णय गर्ने हतार नभएको जनाएको छ । अगस्टभित्र भाइरस नियन्त्रण भए तोकिएको समयमा विश्वकप गराउन सकिने विश्वासमा आइसीसी रहेको छ । विश्वकपको पहिलो खेल अक्टोबर १८ मा हुने कार्यतालिका छ । यो प्रतियोगिता नोभेम्बर १५ मा सकिने छ ।