काठमाडौं । अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा खेपिरहेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ।
म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालीन कप्तान सागर थापासहित ६ जनाले सर्वोच्च अदालतबाट सफाइ पाएका हुन् । सरकारले लगाएको आरोप पुष्टि गर्ने प्रमाण नभेटिएको भन्दै आज अदालतले उनीहरुलाई सफाइ दिएको हो।
सर्वोच्चका न्यायाधीसद्वय आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको निर्णयलाई सदर गरेको हो । सर्वोच्चको फैसलासँगै सागरसहित सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सफाइ पाएका हुन् ।
महानगरीय अपराध महाशाखाको टोलीले सागरसहित ६ जनालाई २०७२ असोज २७ गते पक्राउ गरेको थियो । उनीहरुलाई यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो। विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो ।
तत्कालिन राष्ट्रिय फुटबल कप्तानसमेत रहेका थापा भन्छन्– ‘कसैको व्यक्तिगत स्वार्थमा गम्भीर आरोप लगाउने काम राम्रो होइन । खेर गएको समय कसले जिम्मेवारी लिने हो ?’