यूईएफए च्याम्पियन्स लिगको फाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रान्सेली च्याम्पियन्स पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्ने भएका छन् ।
बायर्नले बुधबार राति भएको दोस्रो सेमिफाइनलमा लियोनलाई ३-० ले पराजित गरेसँगै उपाधि भिडन्तमा स्थान बनाएको हो । यता पीएसजीले पनि मंगलबार आरबी लाइप्जिगलाई ३-० कै अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
लिस्बनमा बुधबार सम्पन्न खेलमा बायर्नको ३-० को जितमा सर्ज जिनाब्रिले २ तथा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । खेलको १८ औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए ।
यस जितसँगै बायर्नले अब उपाधि भिडन्तका लागि आइतबार फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार हुनेछ ।