इन्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागिता जनाउन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको चेन्नई सुपर किंग्सको एक खेलाडीसहित १० सदस्यमा कोरोना संक्रमण देखिएकाे छ ।
अब चेन्नाईको प्रशिक्षण दुबईमा सेप्टेम्बर १ मा मात्र सुरु हुनेछ । निर्धारित तालिकाअनुसार चेन्नाईको प्रशिक्षण शुक्रबार सुरु हुँदै थियो । भारतमा कोरोनाको महामारी नरोकिएपछि आईपीएललाई दुबईमा खेलाउने निर्णय गरिएको थियो । सेप्टेम्बर १९ देखि सुरु हुने आईपीएलको नयाँ सिजनको खेल तालिका अझै प्रकाशित भएको छैन ।
स्रोतका अनुसार बिहीबार गरिएको तेस्रो परिक्षणको नतिजामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै चेन्नईको सबै खेलाडी र टोली सदस्य क्वारेन्टाइनमा बस्ने भएका छन् । अब सबै सदस्यको नतिजा नेगेटिभ नआउँदासम्म टोली प्रशिक्षणमा सहभागी हुन पाउने छैन ।
आईपीएलको नियमअनुसार ज-जसमा कोरोना संक्रमण देखिएको छ उनीहरुले कम्तीमा दुई साता क्वारेन्टाइनमा रहनु पर्नेछ र टिमका अन्य सदस्यसँग जोडिनुअघि थप दुई परीक्षण गर्नु पर्नेछ । यूएईमा भएको परीक्षणपछि चेन्नाईको १० सदस्यीय टोलीमा कोरोना संक्रमण देखिएको हो ।
यूएईमा पुगेपछि एयरपोर्टमा पहिलो परीक्षण, त्यसपछि ६ दिने आईसोलेसनको पहिलो, तेस्रो र छैटौं दिन परिक्षण गर्नु पर्ने प्रावधान छ । यी सबै परीक्षण पार गरेपछि मात्र प्रशिक्षण सुरु गर्न पाउँछ ।
चेन्नाईमा ६ दिने कन्डिसनिङ क्याम्पपछि सुपर किंग्सको भारतीय प्रतिनिधि सम्मिलित टोली अगस्ट २१ मा यूएई पुगेको थियो ।
चेन्नईको टोलीमा कोरोना संक्रमण देखिंदा अन्य केहि टोलीले भने प्रशिक्षण सुरु गरेका छन् । रोयल च्यालेन्जर्स बेंगलोर, किंग्स इलेभेन पन्जाब र राजस्थान रोयल्सले प्रशिक्षण गर्न थालेका छन् ।