यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् ।
स्टुटगार्टमा बिहीबार भएकाे खेलमा जर्मनी र स्पेनले १-१ को बराबरीसँगै अंक बाँड्न बाध्य भयो । पहिलो हाफमा चेल्सीका नयाँ फरवार्ड टिमो वेर्नरको गोलमा अग्रता लिएको जर्मनीले अन्त्यमा गोल खाएपछि नेसन्स लिगमा अंक बाडेका हुन् ।
पहिलाे हाफ गोलरिहत बराबरी रहदा खेलको ५१ औं मिनेटमा जर्मनीले वेर्नरको गोलमा अग्रता लियो । डेब्यु गरिरहेका रोबिन गोसेन्सको लो क्रसलाई वेर्नरले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक डे हेयाले बचाउने कुनै अवसर पाएनन् ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा स्पेनले गोल गरेपनि रेफ्रीले फल भएको भन्दै मान्यता दिएनन् । इन्ज्युरी समयको सातौं मिनेटमा स्पेनले बराबर गोल फर्कायो । फेरान टोरेसको क्रसमा पेनाल्टी क्षेत्रभित्र रोड्रीगोको हेडरलाई जोसे गायाले गोलको दिशा दिँदै खेल बराबरीमा ल्याए ।