लिभरपुलले संघर्षपूर्ण जितसहित इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुखद् सुरु गरेको छ ।
लिगअन्तर्गत नयाँ सिजनको पहिलो खेलमा शनिबार राति लिभरपुलले बढुवा भएर आएको लिड्स युनाइटेडलाई ४–३ ले पराजित गरेको हो ।
लिभरपुलको जितमा मोहम्मद सलाहले ह्याट्रिक गरे भने भर्जिल भान डिजेकले एक गोल गरे । लिड्सका लागि ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ड र मातेउस्ज क्लिचले एक–एक गोल गरे ।
लिभरपुलका सलाहले चौथो र ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । उनले ३८औँ मिनेटमा पनि गोल गरे । सलाह सन् १९८८–८९ को सिजन यता प्रिमियर लिगको सिजनको पहिलो खेलमै ह्याट्रिक गर्ने लिभरपुलका पहिलो खेलाडी हुन् ।
डिजेकले भने २० औँ मिनेटमा गोल गरेका हुन् ।
लिड्सका लागि १२ औँ मिनेटमा ह्यारिसन, ३० औँ मिनेटमा बामफोर्ड र क्लिचले ६६ औँ मिनेटमा गोल गरेका हुन् । १६ वर्षपछि प्रिमियर लिगमा फर्किएको लिड्सले च्याम्पियन लिभरपुललाई कडा टक्कर दिए पनि जित निकालन सकेन ।