एजेन्सी । आइतबार भएको क्रिकेट आईपीएल खेलमा दिल्लीद्वारा पञ्जाब पराजित भएको छ । इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सले किंग्स एलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको हो ।
युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा दुवै टोलीले समान १५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । जसमा पञ्जावले सुरुमा ब्याटिङ गर्दै २ विकेट गुमाएर जम्मा २ रन मात्र बनायो । पञ्जावका कप्तान केएल राहुल र निकोलस पुरनले सुपर ओभरमा सुरुमा ब्याटिङ गरेका थिए ।
तर, दिल्लीका फास्ट बलर कागिसो रबाडाले दुवै खेलाडीलाई आउट गराउन सफल भए । पहिलो बलमा रबाडाले २ रन दिए पनि त्यसपछि लगातार २ बलमा २ विकेट लिएका थिए । दिल्लीले सुपर ओभरमा ३ रनको लक्ष्य २ बल खेल्दै पूरा गर्यो । कप्तान श्रेयस अयेर र विकेटकिपर ऋषभ पन्तले दिल्लीका लागि सुपर ओभरमा ब्याटिङ गरेका थिए ।
त्यसभन्दा अगाडि मार्कुस स्टोइनिसले विष्फोटक ब्याटिङ गर्दै २१ बलमा ५३ रन बनाएपछि दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । अन्तिम ओभरमा मात्रै २५ रन बनाएका स्टोइनिसले ७ चौका र ३ छक्का प्रहार गर्दै २० बलमा अर्धशतक पूरा गरेका थिए । यस्तै कप्तान श्रेयस अयेरले ३९ र ऋषभ पन्तले ३१ रन बनाएका थिए ।