एजेन्सी । आइपिएल क्रिकेट खेलमा राजस्थानलाई हराउँदै दिल्लीले पाँचौँ खेल जित हासील गरेको छ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग अन्तरगत खेलको उक्त जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
गयराति भएको खेलमा दिल्लीले पाँचौँ जित निकाल्ने क्रममा राजस्थान रोयल्सलाई ४६ रनले हराएको हो। १८५ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभर सकिन दुई बल बाँकी हुँदा सबै विकेटको क्षतिमा १३८ रन मात्रै बनायो ।
राजस्थानको लागि राहुल टेवाटियाले ३८, यशस्वी जैसवालले ३४ र कप्तान स्टेभ स्मिथले २४ रन बनाएका थिए । राजस्थानका कुनै पनि ब्याट्सम्यान नचलेपछि ठूलो रनको हार ब्यहोरेको छ ।
दिल्लीको लागि बलिङतर्फ कागिसो रबडाले तीन, रविचन्द्रन अश्विन र मार्कस स्टोइनिसले समान २–२ विकेट लिएका थिए । यसभन्दा अगाडि युएईको शारजाह रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।
दिल्लीका सिमरन हिटम्यरले २४ बलमा ४५, मार्कस स्टोइनिसले ३९, कप्तान श्रेयस ऐयरले २२, पृथ्वी शोले १९, अक्षर पटेलले १७ र हर्षल पटेलले १६ रनको योगदान दिए । बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिएका थिए ।