काठमाडौं . नेपाली खेलकूदको अभिलेखीकरण गरिने भएको । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को सहयोगमा नेपाली खेलकूदको डिजिटल अभिलेखीकृत गर्न लागिएको हो ।
नेपाल ओलम्पिक कमिटीले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली खेलकूदको क्षेत्रमा दूरगामी प्रभाव पार्ने अभिलेखीकरणको परियोजनाको थालनी भएको जनाएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले परियोजना ऐतिहासिक भएको बताए । खेलकूदको इतिहासलाई जगेर्ना गर्न सङ्ग्रहालयको परियोजना सफल हुने उनको भनाइ थियो । पहिलो चरणको सहयोगअन्तर्गत सङ्ग्रहालयको काम अघि बढाइएको र अरू काम पनि साथासाथै अघि बढाइने श्रेष्ठले बताए ।
नेपाल ओलम्पिक कमिटीको अनुरोधमा आइओसीले अभिलेखीकरणको परियोजना सञ्चालन गर्न सहयोग गरेको हो । उक्त परियोजनाका लागि एनओसीले सोलिडारिटी कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।
खेलकूदको इतिहासमा अभिलेखीकृत गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्न परियोजना सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गरे । एनओसी र नेपाल ओलम्पिक सङ्ग्रहालयको सहकार्यमा नेपाली खेलकूदको डिजिटल अभिलेख प्रोजेक्ट २०२०-२०२१ सुरु भएको हो ।
उक्त कार्यक्रमका लागि नेपाल ओलम्पिक कमिटी र ओलम्पिक सङ्ग्रहालयबीच गत मार्चमा सम्झौता भएको थियो ।