मंसिर ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटमा  काठमाडौं र ललितपुर विजयी

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौं र ललितपुर विजयी भएका छन् । बिहीबार भएको छनोट खेलमा काठमाडौंले भक्तपुरलाई चार विकेटले तथा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई २९१ रनले पराजित गरेको हो । काठमाडौंको मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३३ दशमलव चार ओभरमा ९७ रन बनायो ।

९८ रनको विजय लक्ष्य काठमाडौंले २३ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंका लागि जितेन्द्रसिंह ठकुरीले ३८, रविन जोशीले २७ तथा विभत्सु थापाले १६ रन बनाए । बलिङतर्फ भक्तपुरका सुवास खत्रीले चार तथा धिरज अधिकारीले दुई विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा भक्तपुरका लागि अदित सुवेदीले ३६, कृष कार्कीले २७ तथा सुवास खत्रीले १४ रन बनाए । बलिङतर्फ काठमाडौंका इशान पाण्डेले सात दशमलव चार ओभरमा २८ रन खर्चेर पाँच विकेट लिए । यस्तै, सुमन उदयले तीन विकेट लिए । 

यसैगरी, त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहीबार नै भएको अर्को खेलमा आदिल खानको दोहोरो शतकको सहयोगमा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको ललितपुरले ४० ओभरमा चार विकेट गुमाउँदै ३७५ रन बनायो ।

तीन सय ७६ रनको विजय लक्ष्य पछ्याउने क्रममा त्रिभुवन विश्वविद्यालयले २९ दशमलव चार ओभरमा ८४ रन मात्र बनाउन सक्यो । ललितपुरका लागि आदिल खानले १२१ बलमा १६ चौका र १५ छक्काको मद्दतमा २०१ रन बनाए । यस्तै आशुतोष घिरायले ५८ बलमा १२ चौका र तीन छक्काको मद्दतमा ८३ रन बनाए ।

 त्रिभुवन विश्वविद्यालयका लागि भने पृथु बास्कोटाले ४८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४३ रन बनाए । अन्य खेलाडीको खेल प्रदर्शन सम्झिनलायक रहेन । बलिङतर्फ ललितपुरका सुमित झाले चार तथा युनिस थापा र तिलक भण्डारीले दुई–दुई विकेट लिए ।

यो पनि