विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको वरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका छन् । यसअघिको वरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए ।
दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर छन् । विश्व वरियतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा भारतका कपुर दोस्रो स्थानमा उक्लिएका हुन् । यसअघि मुलर पाँचौँ तथा कपुर चौथो स्थानमा थिए । व्यक्तिगत तथा देशकै लागि ठूलो उपलब्धि भएको दाहालले बताए । उनी पुष्पलाल स्मृति र्याङकिङ ब्याडमिन्टन प्रतियोगिता खेल्ने क्रममा सिरहाको गोलबजारमा छन् । दाहाल शुक्रबार भएको क्वाटरफाइनलको खेलमा नवीन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।
नेपाली ब्याडमिन्टनको इतिहासमा दाहालले प्राप्त गरेकाे यो नै सबैभन्दा ठूलो सफलता भएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले जानकारी दिए । सुदूरपश्चिमको दार्चुला घर भएका दाहाल हालसम्म कुनै पनि विभागीय क्लबमा आवद्ध छैन । उनी आफ्नो प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आएका छन् । विसं २०७६ चैतमा विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको वरियतामा दाहाल सातौँ स्थानमा थिए ।
१७ वर्षीय दाहाल हाल ललितपुरको जाउलाखेलस्थित डाँफे इङ्गलिस बोर्डिङ स्कूलमा १० कक्षामा अध्ययनरत छन् ।