प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै विभागीय टिम एपीएफले सेमिफाइनल प्रवेश गरेकाे छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको हो ।
जितसंगै एपीएफ समूह 'ए' बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णालीको हारले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लब समेत सेमिफाइनलमा पुगेको छ । एपीएफले दिएको २१९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली ४३ ओभर २ बलमा अलआउट हुँदै १४७ रन मात्र बनाउन सक्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ५ बलमा अलआउट हुँदै २१८ रन बनाएको थियो । जितसंगै समूह 'ए' को एपीएफले ३ खेलमा ६ अंक जोडेको छ । एपीएफ तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । अब एपीएफ र आर्मीबीचको खेलले समूह विजेता र उपविजेता तय हुनेछ ।