इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएकाे छ । आज सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडलाई पराजित गर्दै अंक सुधार गरेकाे हाे ।
सिटीले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको हो । इतिहाद स्टेडियममा शनिबार सम्पन्न खेलमा घरेलु टोलीले खेलको ३०औं मिनेटमा रुवेन डियासको गोलबाट अग्रता लिएको थियो । ४३औं मिनेटमा मिचेल एन्टेनियोले जेसे लिङ्गार्डको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलकाे ६८औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । यो जितसँगै सिटीको २६ खेलबाट ६२ अंक पुगेको छ । सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १३ अंकले पछि पारेको छ । युनाइटेडको २५ खेलबाट ४९ अंक छ ।