काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्सले जितेको छ ।
काठमाडौंको दशरथ रंगशालामा आज भएको फाइनल खेलमा धनगढीलाई १ - ० गोल अन्तरले पाखा लगाउँदै काठमाडौंले उपाधि चुमेको हो ।
खेलको २१ औं मिनेटमा काठमाडौंका लागि अफ्रिकन स्ट्राइकर मेसुके ओलोमोउको गोल गरेका थिए ।
मध्यभागबाट धनगढीका विशाल राईसँग बल खोस्दै काठमाडौंका विश्वास श्रेष्ठले मिलाएको पासलाई मेसुकेले गोलमा परिणत गरेका हुन् । धनगढीका डिफेन्डरहरूको तालमेल नमिल्दा मेसुकेले राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङलाई छक्याउँदै उत्कृष्ट गोल गरेका थिए ।
खेलको दोस्रो हाफमा धनगढीले गोलका लागि केही प्रयास गरे पनि त्यो सफल हुन सेकन । त्यसैगरी काठमाडौंका पनि केही सुन्दर मौकाले जाली चुम्न सकेनन् ।
मेसुकेले जारी प्रतियोगितामा सर्वाधिक ८ गोल गरेका छन् ।
लिग चरण र पहिलो क्वालिफायरमा काठमाडौंलाई धनगढीले पराजित गरेको थियो ।
धनगढी पहिलो क्वालिफायरमा काठमाडौंलाई अतिरिक्त समयमा २ – १ गोलले हराएर फाइनलमा पुगेको थियो । काठमाडौं भने दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३ – ० ले हराएर फाइनलमा पुगेको थियो ।
लिगका विजेता काठमाडौंले ३५ लाख रुपैयाँ पाएको छ । उपविजेता धनगडीले १५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
व्यक्तिगत ६ विधातर्फ उत्कृष्ट हुने खेलाडीले एक-एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।
कोभिड १९ को संक्रमणबाट बच्न सरकारले लागू गरेका सबै मापदण्ड पालना गर्दै रंगशालामा दर्शकविहीन प्रतियोगिता आयोजना गरिएको थियो ।