एजेन्सी । चिलीको यात्रालाई विराम लगाउँदै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार बिहान भएको खेलमा ब्राजिलले चिलीविरुद्ध १-० को जित हात पारेको हो ।
ब्राजिलको जितमा लुकास पाक्केटाले एकमात्र विजयी गोल गरे । दोस्रो हाफको पहिलो मिनेटमा लुकासले गोल गरेका थिए ।
त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र नतिजा ब्राजिलको पक्षमा पुग्यो ।
खेलको लगभग आधा समय ब्राजिल १० खेलाडीमा सीमित भएको थियो । ५०औँ मिनेटमा ग्याब्रियल जिसस रेड कार्ड पाएपछि मैदानमा ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो ।
अब सेमिफाइनलमा ब्राजिलले पेरुसँग भिड्ने छ ।
यसअघि भएको खेलमा पाराग्वेलाई हराउँदै पेरुले सेमिफाइनल यात्रा सुरक्षित बनाएको थियो । निर्धारित समयमा ३-३ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । थपिएको आधा घण्टामा दुवैतर्फबाट गोल हुन नसकेपछि टाइब्रेकरमा खेल पेरुले ४-३ ले आफ्नो पक्षमा पारेको थियो ।