जारी टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा मेक्सिकोको यू–२३ टोलीले कास्य पदक जितेको छ । तेस्रो स्थानको लागि शुक्रबार भएको खेलमा जापानलाई ३–१ गोलअन्तरले पराजित गर्दै मेक्सिकोले कास्य पदक जितेको हो ।
मेक्सिकोको जितमा फ्रान्सिस्को कोर्डोभा, जोहान भास्क्वेज र अर्नेस्टो भेगाले एक एक गोल गरे । जापानका कोरु मिटोमाले एक गोल फर्काए । १३ औं मिनेटमा फ्रान्सिस्कोले पेनाल्टीमा गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए ।
खेलको ३३ औं मिनेटमा भास्क्वेजले गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिलाए । खेलको ५८ औं मिनेटमा भेगाले गोल गर्दा मेक्सिकोको अग्रता ३–० को बन्यो । त्यसपछि खेलको ७८ औं मिनेटमा जापानका मिटोमाले एक गोल फर्काएका थिए ।
पुरुष फुटबलको स्वर्ण पदकको लागि भने ब्राजिल र स्पेनबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।