काठमाडौं । यसअघि भिसा समस्याका कारण सन्दीपले टी-२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड गुमाएका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) पनि गुमाउने भएका छन् ।
यही अगष्ट अन्तिमदेखि सीपीएल टी-२० क्रिकेट आयाेजना हुँदैछ । तर, सन्दीप यसपटक राष्ट्रिय टिममा व्यस्त रहने भएकाेले सीपीएल गुमाउने भएका हुन् ।
सीपीएल अगस्ट २६ तारिखदेखि सेप्टेम्बर १५ सम्म सेन्ट किट्समा आयाेजना हुँदैछ । त्यसका लागि सन्दीपलाई डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सले अनुबन्ध गरेको थियो ।
तर, सन्दीप अगष्ट अन्तिममा नेपाली टिमसँग ओमान भ्रमणमा जाने भएकाेले सीपीएल खेल्न नभ्याउने भएका हुन् ।
सीपीएलले मंगलबार अपडेट गरेकाे टिम लिस्टमा पनि सन्दीपकाे नाम छैन । ट्रिनबागाेले केही दिनअघि यासिर शाहलाई अनुबन्ध गरिसकेकाे छ । सम्भवत उनी सन्दीपकै स्थानमा टिममा अनुबन्ध भएका हुन् ।
आईसीसी विश्वकप लिग २ काे ट्राई सिरिजर त्यसअघि पपुवान्यु गिनी (पिएनजी) सँग हुने दुई खेलका लागि नेपाली टिम अगस्ट अन्तिममा ओमानतर्फ प्रस्थान गर्ने सम्भावना रहेको छ । केही दिन क्वारेन्टिन बस्नुपर्ने भएकाेले नेपाल केही चाँडै जान लागेको हो ।
नेपालले पिएनजीसँग सेप्टेम्बर ५ र ८ मा खेल्ने पक्का भइसकेकाे छ । यस्तै नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुने तय छ । सन्दीपले ओमान भ्रमणपछि सेप्टेम्बर २५ तारिखदेखि सुरु हुने चाैथो संस्करणको एभरेस्ट प्रिमियर लिग खेल्नेछन् ।
यसपटक उनी काठमाडौं किंग्स-११ को कप्तानमा नियुक्त भएका छन् ।