निकै अनुभवी प्रशिक्षक डेभ ह्वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षणका रुपमा नियुक्त भएर आएपछि पहिलो पटक नेपाली टिमले एक दिवसीय सिरिज खेल्न जाँदैछ । घरेलु मैदानमा टी २० सिरिजको उपाधि जिते पनि नेपाली क्रिकेट टिम करिव डेढ वर्षपछि एकदिवसीय क्रिकेटमा फर्किदैछ ।
लामो समय एकदिवसीय क्रिकेट नखेलेको नेपाली टिमलाई ओमानमा हुने सिरिज चुनौतीले निकै भरिएको छ । त्यसमा पनि नेपाली टिमको प्रदर्शनमा मुख्य चुनौती प्रशिक्षक डेभ ह्वाटमोरको काँधमा रहेको छ । यतिमात्र होइन, यो त्रिकोणात्मक सिरिज टिमका लागि मात्र होइन प्रशिक्षकका लागि पनि परिक्षण जस्तो रहेको छ ।
कोभिडका कारण बारम्बार प्रतियोगिता स्थगित हुनु र नेपाली टिमले प्रशिक्षण सुरु गर्दै स्थगित हुँदा नेपाली टिमको वास्तविक लय कस्तो छ भनेर अझैं पनि एकिन हुन सकेको छैन । त्यसमा पनि यो पटक वर्षा सिजन परेकाले कीर्तिपुर मैदानमा नेपाली खेलाडीले चाहेर पनि राम्रोसँग प्रशिक्षण गर्न पाएका छैनन् ।
राति राति वर्षा हुने भएकाले टिमले सोँचेको जस्तो अभ्यास खेल पनि खेल्न पाएको छैन । यस्तैमा नेपाली टिमले त्रिकोणात्मक सिरिज खेल्नु अगाडि पपुवा न्युगिनीसँग दुई वटा मैत्रीपुर्ण खेल खेल्ने पक्का हुँदा टिमलाई केही हदसम्म राहत भने भएको छ । ती दुई खेलले नेपालको कमिकमजोरीलाई औल्याउने मौका पनि हुनेछ ।
यसमा नेपाली टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर पनि निकै सजक छन् । उनी आफ्ना लागि पनि यो पटकको भ्रमण चुनौतीले भरिएको र च्यालेञ्जले भरिएको बताउछन् । प्रशिक्षक ह्वाटमोरले अहिले नै उत्कृष्ट नजिता निकाल्छौ भनेर भन्ने एकिन नभएको तर टिमले आफ्नो क्षमता अनुसार खेलेको खण्डमा राम्रो हुने आशा गरेको बताए ।
यसका साथै उनले यो सिरिज आफ्नो लागि पनि परिक्षणको मौका रहेको र आफू पनि टेष्ट हुनका लागि तयार रहेको बताए । तयारीको समय छोटो भएपछि टिममा आत्मविश्वास राम्रो रहेको र राम्रो गर्नेमा विश्वस्त रहेको बताए ।
डेढ वर्षअघि नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग खेल्दै लिग टु मा डेब्यु गरेको हो । त्यसबेला ओमानसँग दुवै खेल हारेको नेपालले अमेरिकालाई पराजित गरेको थियो । यो पटक कप्तान ज्ञानेन्द्र मल्लले पनि ओमान भ्रमण चुनौतीले भरिएको बताए । उनले केही समयदेखि ५० ओभरको खेल नखेलेको हुँदा टिम त्यसमा अभ्यस्त हुन नसकेको चुनौती हुनुका साथै लामो समयको ग्यापले पनि खेलाडीलाई चुनौती भएको बताए ।
डिभिजन लिग टु को पहिलो र दोस्रो स्थानमा रहेका ओमान र अमेरीकासँग खेल्दा नेपाली टिममा रहेका अनुभवी खेलाडीलाई अझ बढी दबाव हुनेछ । किनकी यो पटक टिममा पारस खड्का नहुँदाको अभाव पनि निकै पर्ने देखिएको छ ।
तर एकदिवसीय खेलमा राम्रो गर्नका लागि नेपाली टिमको सुरुवात कस्तो हुन्छ भन्ने पनि प्रश्न छ । नेपाली क्रिकेट टिमले टी २० मा घरेलु मैदानमा नयाँ ओपनर जोडी पाएको थियो । तर एकदिवसीयमा कसलाई ओपनरमा उतार्ने भन्ने पनि प्रशिक्षकले गृहकार्य गरिरहेका छन् ।
टिमका अनुभवी खेलाडीमा रहेका कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारीलाई ब्याटिङमा राम्रो गर्नुपर्ने र टिमलाई मुख्य गरी सम्हाल्नुपर्ने दबाव हुनेछ भने बलिङमा सन्दिप लामिछाने, सोमपाल कामी, करण केसीको काँधमा बढी जिम्मेवारी हुनेछ ।
जसलाई खेलाडीले पनि राम्रोसँग बुझेका छन् । लामो समयको प्रशिक्षण नहुँदा र बर्षा सिजनमा क्याम्प हुँदा जुन दुःख खेलाडीले क्याम्पमा पाएका छन्, त्यो नेपाली खेलाडीका लागि नयाँ कुरा भने होइन, तर लिग टु मा नेपालले आफूलाई शीर्ष तीनमा पुर्याउने हो भने यो सिरिज महत्वपूर्ण रहेको छ । जुन खेलाडीलाई पनि राम्रोसँग जानकारी छ ।
त्यसैले पनि उनीहरू मानसिक रुपमा बलियो भएर नयाँ चुनौतीलाई फेरि पनि पछार्ने योजनामा छन् । यो पटक टिममा केही नयाँ अनुहार पनि पर्ने सम्भावना छ । उनीहरुलाई कसरी टिममा प्रयोग गर्ने चुनौती पनि टिममा रहेको छ ।