महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको खेल सामान खरिदमा आर्थिक अनियमितता भएको देखाएको छ ।
राखेपले बनाएको खरिद समितिले लागत अनुमान तयार गर्दा आवश्यक कागजात समावेश नगरी परिषदमा सूचीकृत भएका तीन राष्ट्रिय आपूर्तकको दररेटका आधारमा ४० करोड ९६ लाख लागत अनुमान स्वीकृत गरेको र लागत अनुमानकै दरमा सामाग्री खरिद गरेको उल्लेख गरेको छ ।
प्रतिवेदनमा खेलकुद सामाग्रीको नमूना परिक्षण गर्दा कबड्डीको म्याटको सामान्य बजार दर १ हजार ७ सय रहेकोमा ३ हजार लागत अनुमान तयार गरेको, इलेक्ट्रोनिक स्कोर बोर्डको सामान्य बजार दर २५ हजार रहेकोमा १ लाख ५० हजार लागत अनुमान तयार गरेको, बक्सिङ ग्लोभ्सको सामान्य बजार दर ३ हजार ८ सय ५० रहेकोमा १५ हजार लागत अनुमान तयार रहेको उल्लेख छ ।
महालेखाले लागत अनुमाननै यथार्थ नरहेकाले सो लागत अनुमानको आधारमा खरिद भएको खर्चमा अनियमितता भएको देखाएको हो । साग खेलकुदको दौरान पुरेन्द्रबिक्रम लाखे संयोजकत्वको लागत अनुमान समिति गठन गरिएको थियो ।
कमिसनको लोभमा बढी सामान खरिद :
महालेखापरीक्षकको प्रतिवेदन अनुसार स्थलगत निरीक्षण गर्दा स्पोर्टस किट्स १ हजार ७ सय ७ सेट मौज्दात देखिएको उल्लेख गरेको छ ।
प्रतिसेट १२ हजारको दरले २ करोड ४ लाख ८४ हजार समान प्रयोग नहुदाँ आवश्यकता भन्दा बढी बजेट सामान खरिदमा खर्च भएको देखिएको छ । कमिसनको लोभमा आवश्यकता भन्दा बढी सामान खरिद गरेको आशंका प्रतिवेदनमा देखिन्छ ।
पोशाक खरिदमा अनियमितता :
प्रतियोगिताको निर्देशिका अनुसार नेपाली खेलाडी, अफिसियल, प्रशिक्षक तथा व्यवस्थापकलाई मात्र पोशाक उपलब्ध गराउनुपर्नेमा सदस्य सचिव स्तरीय निर्णयबाट ३ सय ९३ पदाधिकारी, कर्मचारी र विशिष्ट व्यक्तिलाई समेत पोशाक उपलब्ध गराउने निर्णय गर्दा राज्यलाई ३३ लाख ६८ हजार थप व्ययभार पर्न गएको प्रतिवेदनले देखाएको छ ।
साग प्रतियोगिता आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार सहभागी हुने स्वदेशी खेलाडी, प्रशिक्षक र व्यवस्थापक टोलीलाई कार्यकारी समितिले तोके अनुसारको पोशाक उपलब्ध गराउने व्यवस्था रहेपनि सदस्य सचिव स्तरीय निर्णयबाट आयोजक समितिका पदाधिकारी, विषयगत समितिका पदाधिकारी, विशिष्ट व्यक्ति र कर्मचारी समेत ३ सय ९३ समेत गरि १ हजार १ सय ८ जनालाई ब्लेजर, दौरा, सुरुवाल, सारी, ब्लाउज र मोनोग्राम उपलब्ध गराउने निर्णय अनुसार ९६ लाख ८२ हजारको पोशाक खरिद गरिएको थियो ।
खेल सामाग्री खरिद :
खेल सामाग्री खरिदको बोलपत्र खोल्दा व्याडमिन्टनको सामान खरिदको प्याकेजमात्र छनौट भएको, म्यादभित्र आपूर्ति गर्न नसक्ने गरी कार्य तालिका पेश गरेको, प्राविधिक स्पेसिफिकेसन नभएको, बोलपत्रमा हस्ताक्षर नभएको, जमानत रकम कम भएको कारणले ४१ प्याकेज सारभुत रुपमा प्रभावग्राही नभएको र ४० प्याकेजमा बोलपत्र दर्ता नभएको उल्लेख गरी एक आपूर्तकबाट सोझै वार्ता गरी विभिन्न १५ खेलका १६ हरोड ३५ लाखका सामाग्री खरिद सम्झौता भएको देखिन्छ ।
आपूर्तकले सुटिङ खेलको सामग्री आपूर्ति नगरेका कारण खेल प्रभावित हुँदा समेत परिषद्ले आपूर्तिकर्तालाई कारबाही नगरेको देखिएको छ ।
महालेखाले तोकिएको खेल सामाग्री आपूर्ति नहुँदा हुन गएको क्षति यकिन गरी आपूर्तिकर्तालाई सार्वजनिक खरिद नियमावलीअनुसार कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखी पठाउन भनेको छ ।
प्रतिवदेनले समयमै बजेट एवं कार्यक्रम तय भइसकेको अवस्थामा पूव तयारी नगरी खेल सुरु हुनुभन्दा केही समय अघि प्रतिस्पर्धा सीमित गर्ने गरी खरिद कार्य गर्नु उपयुक्त नदेखिएको उल्लेख गरेको छ ।