काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार ओमान प्रस्थान गरेको छ । क्रिकेट विश्व च्याम्पियनसिप लिग २ र पपुवा न्युगिनीसँगको एक दिवसीय क्रिकेट श्रृंखला खेल्न नेपाली टिम मंगलबार त्यसतर्फ लागेको हो ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिमलाई नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिब अशोकनाथ प्याकुरेलसहितका पदाधिकारीले बिदाइ गरेका छन् ।
ओमानमा रहँदा नेपालले लिग २ मा अमेरिका र ओमानसँग त्रिकोणीय श्रृंखलाका ४ खेल खेल्नेछ । लिगमा तीनवटै देशले एकअर्का विरुद्ध २–२ खेल खेल्ने छन् । लिगभन्दा अघि नेपालले पपुवा न्युगिनीसँग २ खेलको एकदीवसीय क्रिकेट श्रृंखला खेल्ने छ ।
पूर्वकप्तान पारस खड्काको सन्यासपछि नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । नेपाल यो पटक नयाँ जर्सीमा समेत मैदानमा देखिने छ । यो खेलमा पारसको कमी कुन खेलाडीले पूरा गर्छन् भन्ने हेर्न लायक हुनेछ । यस्तै तीब्र गतिका बलर गुल्सन झा पहिलोपटक राष्ट्रिय टिममा अटाएका छन् । उनले डेब्यूको मौका पाउँछन् वा पाउँदैनन् त्यो भने पक्का छैन ।
सोमपाल कामी, करण केसी र अभिनाष बोहोरासमेत टिममा तीब्र गतिका बलर छन् । त्यसैले झाले डेब्यूको मौका पाउन कठिन प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । नेपालका प्रमुख प्रशिक्षक डेभ व्हाटमोरका लागि यो पहिलो परीक्षासमेत हो ।