एएफसी वमन्स एशिया कप छनौटका लागि अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीको नाम सार्वजनिक गरेको छ । महिला टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले क्याम्पमा रहेका पाँच खेलाडीलाई हटाएर अन्तिम नामावली सार्वजनिक गरेका हुन ।
यसअघि क्याम्पमा रहेका अमिशा कार्की, अञ्जली वाइबा, हिमा चौधरी, मनिशा रावत र सर्मिला थापाले अन्तिम सूचीमा स्थान बनाउन सकिनन् ।
उज्वेकिस्तामा असोजकाे पहिलाे साता हुने प्रतियोगितामा नेपालले फिलिपिन्स र हङकङसँग खेल्नेछ । सुरुवातमा यो प्रतियोगिता नेपालमा हुने भनिएपनि कोभिडका कारण उज्वेकिस्तानमा सारिएको हो । नेपाली टिममा यो पटक गोलमेसिन सावित्रा भण्डारी भने हुने छैनन् । घुँडाको चोटका कारण सावित्रा हाल कतारमा उपचार गराइरहेकी छिन् ।
नेपालले यो प्रतियोगितामा पहिलो खेल असोज दुई गते फिलिपिन्स र चार गते हङकङसँग खेल्नेछ । समुहको शिर्ष स्थानमा रहने टिमले अर्को वर्ष भारतमा हुने एशिया कपमा स्थान बनाउनेछ ।
नेपाली महिला टिम : अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह