युईएफए युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह 'ए'अन्तर्गतको खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।
इतिहाद मैदानमा गोलको वर्षा हुँदा सिटीले विजयी सुरुवात गर्याे । जर्मन क्लब लाइपजिग १० खेलाडीमा सिमित रहँदा यस खेलमा ९ गोल भएका थिए ।
सिटीको विजयी सुरुवातमा नाथन एके, रियाद महरेज, ज्याक ग्रयलिस, जोआओ कनसेलो र गाब्रियल जेसुसले १/१ गोल गरे भने लापजिगका नर्दी मुकियलेले १ आत्माघाति गोल गरे ।
त्यस्तै, भ्रमणकारी टोली लाइपजिगका क्रिष्टोफर नकुन्कुले ४२, ५१, ६३औँ मिनेटमा ह्याट्रिक पूरा गरे पनि टोलीको हार टार्न सकेनन् । यसअघि लाइपजिगका एन्जेलिनोले ७९औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।
खेलसँगै समूह 'ए'मा ३ अंकसहित सिटी शीर्षस्थानमा छ । बराबर खेलेका क्लब ब्रग र पिएसजीको सामान १ अंक रहँदा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । पराजित आरबी लाइपजिग भने पुछारमा रहेको छ ।
यस्तै समूह 'बी'अन्तर्गतको खेलमा लिभरपुलले एसि मिलानलाई रोमाञ्चक खेलमा ३-२ गोल अन्तरले पराजित गरेको छ । लिभरपुर घरेलु मैदान एनफिल्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन मोहम्मद सलाह, जोर्डन हेन्डरसन १-१ गोल गर्दा मिलानका फिकायो तोमोरीले आत्माघाती गोल गरेका थिए ।
भ्रमणकारी टोली एसि मिलानको लागि एन्टे रोबिक र ब्राहिम डियाजले १/१ गोल गरे । खेलमा मिलानका जाल्टान इभ्राहिमोभिक उपलब्ध थिएनन् । यसअघि १४औँ मिनेटमा लिभपुरका सलाहको पेनाल्टी प्रहार मिलान गोलकिपर माइक माइग्नानले बचाउ गरेका थिए ।
यस्तै, समूह 'सी'को खेलमा स्पेनिस रियल म्याड्रिडले इटाली क्लब इन्टर मिलानविरुद्ध १/० को कठिन जित हासिल गरेको छ । भ्रमणकारी टोली रियलले रोड्रिगोको निर्णायक गोलमा ८९औँ मिनेटमा १/० को अग्रता बनाएको थियो । घरेलु मैदान सान सिरोमा इन्टर फर्कने धेरै मौका बनाए पनि सफल हुन सकेन ।