सहज जितसहित चितवन टाइगर्स एभरेस्ट प्रिमियर लिग (इपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा चितवनले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो ।
सुरुवाती चार खेलमा जित निकाल्दै पहिलो चरणबाट शीर्षस्थानमा रहेर क्वालिफायरमा पुगेको चितवन पहिलो पटक इपीएलको फाइनलमा पुगेको हो ।
दोस्रो संस्करणमा स्थापित चितवनले यसअघिका दुई सिजनमा प्लेअफ यात्रा तय गर्न सकेको थिएन । यद्यपि, यो सिजनमा भने चितवनले अपराजित रहँदै प्लेअफमा स्थान बनाएको थियो भने पाँचौँ खेलमा पराजित भएको थियो ।
बुधबार भएको क्वालिफायरमा शानदार जित दिलाउन चितवनका लागि ओपनर मोहम्मद शहजाद र कासिम अनसारीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । २६ बलको सामना गरेका शहजादले सात चौका र दुई छक्कासमेत प्रहार गरेका थिए । यस्तै, आसिम अन्सारी १४ र करिम जनत चार रनमा अविजित रहे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवनसामु ६६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्दै पोखराले सम्हालिएको सुरुवात गरेको थियो । ४ दशमलव ६ ओभरमा ओपनर रिचार्ड लेभीलाई गुमाएको पोखराले ४१ रनमा अर्का ओपनर सुनील धमलालाई गुमाएको थियो । त्यसपछि तीन रन जोड्दा चार विकेट गुमाएको पोखराका लागि अन्य ब्याट्म्यानले १० को आँकडा पार गर्नै मुस्किल परेको थियो ।
कप्तान तथा विकेटकिपर ब्याट्सम्यान विनोद भणडारी गोल्डेन डक हुँदा असेल गुणारत्ने १ रनमा पेभेलियन फर्के । यस्तै, सहान अराचिगे तीन रनमा आउट हुँदा विवेक यादव दुई, लोकश बम पाँच र नन्दन यादव शून्य रनमा सीमित भए । यस्तै, सुशन भारी १२ रन बनाएर पेभेलियन फर्किए ।
कसिलो बलिङ गरेको चितवनका लागि सागर ढकालले चार ओभरमा १४ रन मात्र खर्चेर चार विकेट लिए । यस्तै साहब आलमले पनि चार ओभरमा नाै रन खर्चेर चार विकेट चट्काए ।
पोखरालाई ६५ रनमा सीमित गरेसँगै चितवनले फाइनल पुग्नका लागि ६६ रनको लक्ष्य पाएको छ । पराजित पोखराले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ । बुधबार नै एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । यस खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।