रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्समाथि ७ विकेटको रोमान्चक जित हात पारेको छ ।
जितको लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्याे । बेंगलोरको जितमा विकेटकिपर श्रीकर भरतले ५२ बलमा ७८ रनमा अविजित रहे । ग्लेन म्याक्सवेल ५१ रनमा अविजित रहे । दिल्लीका एनरिच नोर्कियाले २ र अक्षर पटेलले १ विकेट लिए ।
त्यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । दिल्लीका ओपनर पृथ्वी शाले सर्वाधिक ४८ रनको योगदान दिए । शिखर धवन ४३ रनमा आउट भए ।
बेंगलोरका मोहम्मद शिराजले सर्वाधिक २ विकेट लिए । ड्यानियल क्रिष्टियन, युजभेन्द्र चहल र हर्षल पटेलले १–१ विकेट लिए ।
बेंगलोरको १४ खेलमा समान १८ अंक भए पनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्नु परेको हो । बेंगलोरले सोमबार एलिमिनेटर खेलमा कोलकता नाइट राइडर्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा शीर्ष स्थानको दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच आइतबार प्रतिस्पर्धा हुनेछ ।