काठमाडौं । भारतले आईसीसी टी–ट्वान्टी क्रिकेट विश्वकपअघिको अभ्यास खेलमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ । बुधबार भएको खेलमा कप्तान रोहितको उत्कृष्ट पालीमा भारतले अस्ट्रेलियामाथी सहज जीत निकालेको हो ।
जीतका लागि १५३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । भारतका कप्तान रोहित शर्माले ६० रन बनाए । यस्तै, ओपनर लोकेश राहुलले ३९ बनाए ।
यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । अस्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाए । यस्तै, मार्कस स्टोइनिस ४१ रनमा अविजित रहे ।
भारतका स्पिनर रविचन्द्रन आश्विनले २ विकेट लिए । राहुल चाहर, भुवनेश्वर कुमार र रवीन्द्र जडेजाले १–१ विकेट लिए ।
भारत सुपर १२ को समूह ‘बी’ र अस्ट्रेलिया समूह ‘ए’ मा छन् । विश्वकपमा अस्ट्रेलियाले शनिबार दक्षिण अफ्रिकासँग खेल्दै सुरुवात गर्नेछ । भारतले विश्वकपमा आइतबार पाकिस्तानसँग पहिलो खेल खेल्नेछ ।
समूह ‘बी’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता रहनेछन् । शीर्ष दुई–दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरू सकिएपछि सुपर १२ का खेलहरू हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।