काठमाडौँ । क्यामरुनका गोलरक्षक आन्द्रे ओनाना इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन् । उनी इटालियन सिरिए क्लब इन्टर मिलानमा एक सिजन बिताएर म्यानचेस्टर युनाइटेड आएका हुन । २७ वर्षीय गोलरक्षक ओनानालाई म्यानचेस्टर युनाइटेडले पाँच करोड ५० लाख युरो (करिब आठ अर्ब नेपाली रुपैयाँ) मा भित्राएको हो । उनी क्यामरुनको राष्ट्रिय टोलीका खेलाडी पनि हुन् । उनले म्यानचेस्टर युनाइटेडसँग पाँच वर्षका लागि सम्झौता गरेको समाचारमा उल्लेख गरिउको छ । उनले आफ्नो ब्यवसायिक खेल जीवनको लामो समय भने डच क्लब आयाक्समा बिताएका थिए । उनले सन् २०१६ देखि सन् २०२२ सम्म आयाक्सबाट खेलेका थिए । ‘म्यानचेस्टर युनाइटेडबाट खेल्नु मेरो सपना पनि थियो । आज मेरो सपना साकार भएको छ,’ गोलरक्षक ओनानाले भनेका छन् ।
प्रभावशाली स्पेनिस गोलरक्षक डेभिड डे गेआले क्लब छाडेपछि म्यानचेस्टर युनाइटेड उनको विकल्पको खोजीमा थियो । १२ वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएका गोलरक्षक डे गेआको सम्झौता यही जुलाईमा सकिएको हो ।