काठमाडौं । होटल संघ नेपाल (हान)ले विदेशबाट उद्धार गरेर ल्याइएका र कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलगायतलाई राख्न होटल दिन सकिने गरी प्रस्ताव गरेको छ ।
हानले पर्यटन विभागका महानिर्देशकसमक्ष केही सर्त राख्दै यस्तो प्रस्ताव गरेको हो ।
होटलमा राख्नुपूर्व स्वास्थ्य चेकजाँच गरी संक्रमण नभएको यकीन हुने प्रमाणपत्र अनिवार्य, क्वारेन्टाइनमा बसेकाहरुको प्रत्येक दिन स्वास्थ्य जाँच हुनुपर्ने, होटल सञ्चालनका लागि कानुनी अनिवार्य शर्तका रुपमा तोकिएको अन्तर्राष्ट्रिय स्तरका मापदण्डमा कुनै क्षति नहुने ग्यारेन्टी गर्नुपर्ने र कर्मचारी तथा छिमेकमा रहेका स्थानीय समुदायलाई कोरोना संक्रमणबाट बचाउन स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहबरमा होटल सञ्चालन हुनुपर्ने होटल संघ नेपालले विभागमा बुझाइएको प्रस्तावमा उल्लेख छ ।
सरकारले विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारका लागि गृहकार्य भइरहेका बेला हानले सर्तसहित बोर्डलाई यस्तो प्रस्ताव बुझाएको हो ।
होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले प्रतिव्यक्ति दैनिक लागत पर्यटकीय स्तरका होटेलमा न्यूनतम ३ हजार र पाँचतारे होटेलका लागि १६ हजार लाग्ने संकेत गरेका छन् ।
उनले यसमा दैनिक ४ छाक खाना, खाजासमेत उपलब्ध हुने बताए ।